गुल्मीको छत्र कोटमा जिपलाइन निर्माण

 गुल्मी –  गुल्मी जिल्लाको छत्र कोट गाउँपालिकाले जिपलाइन निर्माण गरेको छ ।

पालिकाले पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले छत्र कोट देवालय मन्दिरबाट देवी भगवती मन्दिरसम्म पुग्ने गरी जिपलाइन निर्माण गरेको हो ।

गाउँपालिकाले ‘रुरु रेसुङ्गाको धार्मिक आस छत्र कोटमा बसौँ वास’ भन्ने नीति नै बनाएर पर्यटकीय गन्तव्य निर्माण कार्यलाई तीव्र अगाडी बढाएको गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताउनुभयो  ।

गाउँपालिकाको वडा नम्बर–३ को छत्र कोट देवालय मन्दिर भगवती मन्दिर–लुम्छा जिपलाइन निर्माण कार्य अन्तिम चरणमा पुगेको हो ।

पालिकाले पर्यटन प्रवर्द्धन गर्न पालिका भित्र संरचना निर्माणसँगै धार्मिक, सांस्कृतिक र पुरातात्त्विक महत्वका धार्मिक तथा पर्यटकीय स्थलको संरक्षण, संवर्द्धन र प्रचारप्रसार गरेर आन्तरिक पर्यटनलाई थप प्रभावकारी बनाउने गाउँपालिका अध्यक्ष पाण्डेले बताउनुभयो  ।

अघिल्लो आर्थिक वर्षबाट निर्माण सुरु भएको जिपलाइन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । १ हजार ८० मिटर लम्बाई रहेको जिपलाइनको ६७ मिटरको उचाइ रहेको छ । जिपलाइनमा औषत १५ देखि २० मिटर प्रतिसेकेन्डमा तौल अनुसारको गति रहेको छ । सुरु स्टेसन देखि ल्यान्डिङ हुने स्टेसनसम्म पुग्न अधिकत्तम ५५ देखि ७७ सेकेन्ड समय लाग्ने अनुमान रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्र हरि पुरीले बताउनुभयो । ८६ लाख ७३ हजार १ सय ४४ रुपैयाँ लागत रहेको छ । लुम्बिनी प्रदेश सरकार र छत्र कोट गाउँपालिकाको समपूरक बजेटमा सानु सेती देवी कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको हो ।

जिपलाइन चढ्नको लागि गाउँपालिका वासीहरूको लागि ४ सय रुपैयाँ, विद्यार्थीहरूको लागि ३ सय रुपैयाँ, पालिका बाहिरका नागरिकको लागि ५ सय रुपैयाँ र विदेशी नागरिकको लागि १ हजार ५ सय रुपैयाँ शुल्क निर्धारण गरिएको पुरीले बताउनुभयो  । पालिकाले निर्माण गरेको जिपलाइनको सम्पूर्ण तयारी पुरा गरेर शुक्रवारबाट सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

छत्र कोट देवालय मन्दिर परिसरमा निर्माण गरिएको जिपलाइनले मन्दिरसम्म पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको लागि आकर्षक गन्तव्य बन्ने पालिकाले लक्ष्य लिएको छ । पालिकाले निर्माण गरेको जिपलाइन नीजि क्षेत्रलाई सञ्चालन गर्नका लागि जिम्मा दिने तयारी पालिकाले लिएको गाउँपालिकाका उपाध्यक्ष सवित्रा ज्ञवालीले बताउनुभयो  ।

जिपलाइन निर्माण स्थल रिडी–तम्घास राजमार्गको नजिकै निर्माण भएकाले जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्य बन्ने उहाँले बताउनुभयो । गाउँपालिकाको छत्र कोट देवालय मन्दिर अहिले पनि दैनिक सयौं नागरिक मन्दिर अवलोकन र वनभोज खान पुग्ने गर्दछन्।

ती नागरिकको रमाइलो र साहसिक खेलका लागि पालिकाले जिपलाइन निर्माण गरेको गाउँपालिका उपाध्यक्ष ज्ञवालीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.