गरुडा नगरपालिका कार्यालयमा तोडफोड, गाडी र दर्जनौँ मोटरसाइकलमा क्षति

रौतहट- रौतहटको गरुडा नगरपालिका कार्यालयमाथि तोडफोड गरिएको छ।
शिक्षक सरुवाको विषयलाई लिएर नमुना माध्यमिक विद्यालय गरुडाका विद्यार्थीहरूले आज नगरपालिका कार्यालयमा तोडफोड गरेका हुन । तोडफोडबाट नगरपालिका कार्यालयमा क्षति पुगेको छ।

नगरपालिकाले नमुना माध्यमिक विद्यालयका शिक्षक शिवशंकर झालाई माध्यमिक विद्यालय झाझपुलमा सरुवा गरेको भन्दै आक्रोशित विद्यार्थीहरूले शिक्षक झाको सरुवा रोक्नुपर्ने माग राख्दै नगरपालिका अगाडि बिरोध प्रदर्शन गरेका थिए।

विरोध प्रदर्शनकै क्रममा उनीहरुले नगरपालिका कार्यालय र गाडीमाथि तोडफोड गरेका हुन ।

विद्यार्थीहरूले ढुंगा प्रहार गरी नगरपालिका कार्यालयको अधिकांश कोठाको झ्यालको सिसा फुटाइदिएका छन भने दुईवटा गाडी र केही मोटरसाइकलमा समेत तोडफोड गरी क्षति पुर्‍याएका छन ।

विद्यार्थीहरूले नगरपालिका कार्यालय अगाडि पार्किंग गरी राखेको मेयर कन्थमनी प्रसाद जयसवाल चढ्ने सरकारी गाडी र एकजना सेवाग्राहीको भारतीय नम्बर प्लेटको स्कारपियो गाडीमा ढुंगा प्रहार गरी क्षति पुर्‍याएका छन ।

त्यस्तै नगरपालिकामा काम गराउन आएका सेवाग्राहीहरुको गाडीमा समेत विद्यार्थीहरूले तोडफोड गरेका छन ।

ढुंगा प्रहारबाट सेवाग्राहीको १२ वटा गाडीमा क्षती पुगेको बताइएको छ। विद्यार्थीले गरेको ढुंगा प्रहारबाट एकजना नगर प्रहरी घाइते भएका छन्।

घाइते भएका नगर प्रहरी हवल्दार रामनारायण साहको वीरगन्जमा उपचार भइरहेको नगरपालिकाले जनाएको छ।

विद्यार्थीहरूले गरेको ढुंगामुढाबाट कार्यालय र सवारी साधन गरी करिव १० लाख भन्दा बढीको क्षती भएको गरुडा नगर प्रमुख कन्थमनी प्रसाद जयसवालले बताएका छन्।

नगरपालिकाले शिक्षक शिवशंकर झालाई अन्यत्र सरुवा गर्दा सरुवा भएको ठाउँमा जानुको सट्टा शिक्षक झा र प्रधानाध्यापक पटेलले उल्टै विद्यार्थीलाई उक्साएर सार्वजनिक सम्पतिमाथि तोडफोड गरी उदण्डता देखाएको मेयर जयसवालको भनाइ छ ।

तर, प्रधानाध्यापक प्रभु राउत पटेलले भने मेयरको आरोपको खण्डन गरेका छन ।

आफूहरुले विद्यार्थीलाई उचालेर आन्दोलन गराएको भन्ने कुरा गलत भएको उनको भनाइ छ ।

चार महिना अघि नमुना माध्यमिक विद्यालय गरुडामा कार्यरत रहेका शिक्षक झालाई नगरपालिकाले नियमसंगत नै माध्यमिक विद्यालय महमदपुर झाझपुलमा सरुवा गरेको थियो।

तर झाले पालिकाले गरेको सरूवालाई अटेरी गर्दै आएका थिए ।
सरुवा गरिएको ठाउँमा जान नमान्दा नगरपालिकाले शिक्षक झाको तलव भत्ता नै रोकिदिएको थियो ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.