भैँसीको मासु चीन निर्यात गर्ने विषयले हौसिएका राजपुरबासी
दाङ- प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा नेपालबाट भैँसीको मासु निर्यात गर्ने विषयमा सहमति भएसँगै दाङको राजपुर गाउँपालिका अहिले चर्चामा आएको छ ।
सीमा नाकामा पर्ने दाङको राजपुर गाउँपालिकामा परम्परागत रुपमा ठूलो सङ्ख्या भैंसीपालन हुँदै आएको भएपनि यसबाट यहाँका किसानले खासै लाभ लिन सकिरहेका छैनन् ।
तर पछिल्लो समय यहाँको भैंसीपालन पेशालाई व्यवसायिक र आधुनिक बनाउन सकेमा भैँसीको मासु चीन निर्यात गर्न सकिने विषयमा विभिन्न सरोकारवालाहरूले चासो दिन थालेपछि राजपुरको भैँसीले चर्चा पाउन थालेको हो ।
केही दिन अघि मात्रै राजपुर पुग्नुभएका लुम्बिनी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले राजपुर भैँसीपालनका लागि राम्रो ठाउँ भएपनि किसानले धेरै लाभ लिन नसकेको बताउनुभयो । परम्परागत रुपमा भैँसीपालन गर्दा किसानको लगानी धेरै, नाफा कम भइरहेको उहाँको भनाइ थियो ।
राजपुर गाउँपालिकाको खरदरिया, बेला, मटेरिया, प्रतापपुरलगायतका गाउँमा परम्परागत रुपमा भैँसीपालन हुँदै आएको छ । यादव समुदायको बसोबास रहेको राजपुरका किसानले एउटै घरमा १७० वटासम्म भैँसीपालन गरेको किसान सीताराम यादवले बताउनुभयो ।
राजपुर गाउँपालिकाले केही वर्षअघि गरेको तथ्याङ्क सङ्कलनमा गाउँपालिकाभित्रका १४ हजार बढी भैँसी रहेको पाइएको थियो । राजपुरमा भैँसीपालन भएपनि न यहाँको दूधले राम्रो बजार पाएको छ, न यहाँको भैँसीको मासु निर्यात हुन सकेको छ ।
यहाँको भैँसीपालनलाई व्यावसायिक बनाउन सकेमा प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा भएको मासु निर्यात गर्ने योजना समेत सफल हुने पशु विज्ञ तुलसी भण्डारीले बताउनुभयो ।
‘सडक छेउमा अव्यवस्थित रुपमा गरिएको भैँसीपालन व्यवसायलाई खोर सुधार, नस्ल सुधार र आहार व्यवस्थापन गर्न सकेमा गाउँमा समृद्धि ल्याउन सकिन्छ’ भण्डारीले भन्नुभयो ।
भैँसीपालनका लागि राजपुर पहिलेदेखि नै प्रख्यात क्षेत्र हो ।।
प्रतिक्रिया राख्नुहोस्