लुम्बिनीमा पर्यटन प्रवर्द्धनका लागि ‘बौद्ध संचार यात्रा’
रुपन्देही- भगवान गौतमबुद्धले हिँडेरै विश्वभर बुद्ध सन्देश फैलाउनु भएको थियो । यसैले बौद्ध धर्ममा पदयात्राको खास महत्व छ । यही पदयात्रालाई प्रवर्द्धन गर्ने र लुम्बिनी घुम्न स्वदेशी तथा विदेशी पर्यटक अभिप्रेरित गर्ने उद्देश्यले भैरहवा–लुम्बिनी २४ किलोमिटर बौद्ध संचार यात्रा गरिएको छ ।
लुम्बिनी प्रेस क्लब, रुपन्देहीले आफ्नो १०औं स्थापना दिवसको अवसरमा बिहीबार भैरहवाको लुम्बिनी गेटदेखि लुम्बिनीस्थित मायादेवी मन्दिरसम्म संचार यात्रा गरेको हो ।
‘पर्यटनका लागि शान्ति, शान्तिका लागि संचार यात्रा’ भन्ने नारासहित गरिएको दोस्रो बौद्ध संचार यात्राले लुम्बिनी क्षेत्रमा नयाँ उत्साह थपेको विश्वास गरिएको छ ।
भिक्षु भिक्षुणी, लामा, पत्रकार, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, उद्योगी–व्यवसायी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सर्वसाधारण गरी एक सय बढी पदयात्रामा सहभागी भए ।
ठाउँठाउँमा स्थानीय र पर्यटन व्यवसायीले यात्रामा सहभागीहरुलाई स्वागत गरेका थिए ।
सहभागीहरु बुद्ध धुनको गुन्जनसँग पद यात्रा गर्न पाउँदा निकै हर्षित भएका थिए ।
खासगरी शान्ति, अहिंसा र पंचशीलको सन्देश विश्वमाझ फैलाउने र बुद्ध जन्स्थल लुम्बिनी, पर्यटन क्षेत्र र संचारलाई सँगैसँगै अगाडि बढाउँदा लाभ उठाउन सकिन्छ भन्ने उद्देश्य दिन संचार यात्रा गरिएको प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले बताउनु भयो ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले भैरहवादेखि बुद्धको पवित्र जन्मस्थल लुम्बिनीसम्मको यात्राले सकरात्मक उर्जा पैदा गरेको बताउनु भयो । संचारकर्मीको संस्थाले यस्तो कार्यक्रम गर्नु आँफैमा उत्कृष्ट र सह्रानीय भएको उहाँको भनाइ थियो ।
लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बुद्धले गृहत्याग गरेदेखि हिँडेर जीवन विताएको उल्लेख गर्दै त्यहीबेलाको सन्देश बोकेर सञ्चारकर्मीहरुले पैदलयात्रा गरेकोमा धन्यवाद दिनुभयो ।
बिहान ७ः२० मा भैरहवाको लुम्बिनी गेटबाट सुरु पदयात्रा १२ः०५ मा लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा पुगेको थियो ।
महाराज शुद्धोधनका गुरु अतिशकाल देवल नवजात शिशु सिद्धार्थ बोधीसत्वलाई हेर्न आउँदा शिशु सिद्धार्थ महान गुरु बन्ने भविष्यवाणी गर्नुभएको थियो ।
महान गुरुप्रति समर्पित भई अतिशकाल देवलले आफ्ना भान्जा नालकलाई प्रवज्जित (भिक्षु बनाएका) थिए । उनै भिक्षु नालक आजीवन पैदल यात्रा गर्दै धम्मदेशना गरेकाले पैदल यात्रा महत्वपूर्ण रहेको कुरा सूत्र पिटकको सुत्त निकायमा उल्लेख गरिएको छ । यसैले पनि पदयात्रा गर्न बौद्ध संचार यात्रा गरिएको हो ।।
प्रतिक्रिया राख्नुहोस्