गैंडा चोरी शिकारी गरेकाहरुको आग्रह- रोजगारी देउ, संरक्षणमा जुट्छौं
चितवन – गैंडा चोरी शिकारको अभियोगमा लामो समय जेल परेर छुटेकाहरुले आफुहरुलाई जिविकोपार्जनको लागि बाताबरण बनाइदिए अब गैंडा संरक्षणमा सहयोग गर्ने प्रतिवद्दता व्यक्त गरेका छन ।
चितवनको सौरहामा गैंडा सरक्षणका लागि जिविकोपार्जन सम्बन्धी अन्तरकृया कार्यक्रममा सहभागीहरुले लामो समय जेलमा बस्नु पर्दा आर्थिक स्थिति कमजोर भएकोले परिवार पाल्न समस्या भएको भन्दै गैंडा संरक्षणलाई नै जिवन धान्ने माध्यम बनाउने इच्छा व्यक्त गरेका हुन ।
चितवनको बिकट पहाडी क्षेत्रमा रहेका र गैंडा चोरी शिकारको अभियोगमा लामो समय जेल जिबन बिताएकाहरुले जिविकोपार्जनको लागि ब्यबस्था गरेको खण्डमा आफुहरु गैंडा सरक्षणको कार्यक्रममा सकृय रुपमा सहभागी हुने बताए ।
गैंडाको शिकार गरेको अभियोगमा १३ बर्ष जेलमा बिताएका चितवन राप्ती नगरपालिका- १० चिप्लेटीका जीत बहादुर तामाङ्गले गरिबी अशिक्षा र बेरोजगार भएकै कारण नै युवाहरु गैर कानूनी काम गर्न बाध्य हुने गरेको बताए ।
चितवन राष्ट्रिय निकुञ्जको उत्तरी पहाडी क्षेत्रका समुदायलाई लक्षित गरेर कार्यक्रम लान सकेको खण्डमा संरक्षण सुनिश्चित हुने कुरा १४ बर्ष जेल बिताएका बिर बहादुर प्रजाको भनाइ थियो ।
गैंडा चोरी शिकारको अभियोगमा राप्ती नगरपालिका- १० र कालिका नगरपालिकाको बाँसघारी, चिप्लेटी, कालिखोला र समिटारको ७४ जना जेलमा परेका थिए । ती मध्य अधिकांश छुटिसकेका छन् ।
बिगतमा गैंडा चोरी शिकारमा लागेकाहरु पुन: यो पेशामा नफर्कियुन भन्नको लागि कार्यक्रमको आयोजना गरिएको चितवन राष्ट्रिय निकुञ्जका वार्डेन अणनाथ बरालले बताउनु भयो ।
गैंडा सरक्षणको लागि ती समुदायको जिविकोपार्जन आबश्यक रहेको राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख बाबुराम लामिछानेले बताउनु भयो ।
कार्यक्रममा गैंडा चोरी शिकार गरेर जेल सजाय पूरा गरी छुटेका १५ जनाको सहभागिता रहेको थियो ।
कार्यक्रम राष्ट्रिय प्रकृति संरक्षण कोषको आयोजनामा भएको थियो ।।





प्रतिक्रिया राख्नुहोस्