तराई-मधेशमा चिसो बढ्दै, सतर्कता अपनाउन चिकित्सकको आग्रह

धनुषा- धनुषालगायत मधेशका जिल्लामा बाक्दो हुस्सु र कुहिरो लाग्न थालेपछि अत्यधिक चिसो बढ्न थालेको छ ।

चिसोबाट बच्न न्यायो लुगा लगाएर अत्यावश्यक काममा मात्रै घरबाहिर निस्किन र झोलिलो खानेकुरा खान चिकित्सकले सुझाव दिएका छन् । विशेषगरी बालबालिका, वृद्धवृद्धा, दम तथा रुघाखोकीका बिरामी समस्यामा पर्ने भएकाले सतर्कता अपनाउन चिकित्सक चन्देश्वर महासेठको सुझाव छ ।

“यसका साथै बाथ तथा गेठियाका रोग लागेका विरामीलाई चिसोका कारण थप समस्या बढ्ने जोखिम हुन्छ । चिसोबाट जोगिन बिहानको समयमा मर्निङ वाक नगर्न र गर्नै परे शरिर ढाकिने गरी न्यानो लुगा लगाउन आवश्यक छ”, महासेठले भन्नुभयो ।

प्रादेशिक अस्पताल जनकपुरधामका निर्देशक डा जामुनप्रसाद सिंहले केहीदिन देखि यहाँ अत्यधिक चिसो बढेकाले उच्च सतर्कता अपनाउन आग्रह गर्नुभयो । “अस्पतालमा रुघाखोकी, ज्वरो, कोल्ड डायरियाका बिरामी बढेका छन् ।

जनकपुरधाम क्षेत्रमा बिहानदेखि कुहिरो लाग्ने गरेको छ । यो क्रम अझै केही दिन कायम रहे थप चिसो बढ्ने अवस्था छ । त्यसैले विशेष सतर्कताका लागि हाम्रो आग्रह छ”, उहाँले भन्नुभयो ।

चिसो बढ्दै गएपछि प्रदेश सरकारले दाउरा तथा कम्बल वितरणका लागि पहल गरिरहेको जनाइएको छ । प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयका प्रवक्ता दीपेन्द्रकुमार यादवले सबै जिल्लामा कम्बल पठाइसकिएको बताउनुभयो ।

चिसोबाट बच्न अपनाउनुपर्ने सावधानीबारे चेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.