देवघाट धाममा देवघाट महा-महोत्सव हुने

चितवन –  चितवन, तनहुँ र नवलपरासीको संगमस्थल देवघाट धाममा देवघाट महा महोत्सव हुने भएको छ । चर्चित भागवत वाचक ईश्वर कृष्ण महाराजको सत्संकल्प र नेतृत्वमा माघे संक्रान्तिको अवसर पारेर यही पौष २४ गतेदेखि ३० गतेसम्म देवघाट महा महोत्सव हुने भएको हो ।

नेपालकै प्रमुख धार्मिक स्थल देवघाट धाममा १ लाख सिला पूजन र देवघाट दिव्य धामको शिलान्यास गर्दै महा महोत्सवको सुरु गरिन लागेको ईश्वर कृष्ण महाराजले जानकारी दिनुभयो ।

विश्व जागरण महाअभियान ट्रस्टको आयोजनामा देवघाट महा महोत्सव २०८१ को आयोजना गरिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

निर्माणाधीन माता पिता सेवा आश्रमको सहयोगार्थ देवघाट महामहोत्सव २०८१ गर्न लागिएको महा महोत्सवका संयोजक डा. केशव राज भुर्तेलले बताउनुभयो ।
निर्माणाधीन आश्रममा हालसम्म जमिन प्राप्ति लगायतका कार्यहरू पनि सम्पन्न भई, १२० कोठाको निर्माण अन्तिम चरणमा पुगेको छ, उनले भने, आश्रमसँगै सिमेन्ट र छडको प्रयोग नगरी पूर्ण रूपमा पत्थरबाट कलात्मक शैलीमा देवघाट दिव्य धाम मन्दिर निर्माण गरिने छ । मन्दिर र आश्रमको गरी कुल लागत करिब २ सय करोड रुपैयाँ रहने ट्रस्टको अनुमान छ। निर्माणाधीन मन्दिरलाई हजारौँ वर्ष टिक्न सक्ने खालको संरचना तयार पार्ने लक्ष्य राखिएको डा. श्री वास कृष्णदास ब्रह्मचारीले बताउनुभयो । जसमा ३६५ कोठाहरू रहनेछन्, वृद्ध मातापिताका लागि सुरक्षित, सुविधा सम्पन्न र धार्मिक वातावरण प्रदान गर्ने उद्देश्य छ।

विश्व जागरण महाअभियान ट्रस्टका संस्थापक ईश्वरकृष्ण महाराजको सत्संकल्प र नेतृत्वमा निर्माणाधीन देवघाट दिव्य धाम र माता पिता सेवा आश्रमले धार्मिक, सामाजिक, र सांस्कृतिक दृष्टिकोणले महत्त्वपूर्ण योगदान दिने विश्वास डा. भुर्तेलको छ। यो परियोजनाले वृद्ध मातापितालाई निःशुल्क आवासीय सुविधा मात्र नभई धार्मिक आस्था र शान्तिको वातावरण उपलब्ध गराउने उनको दाबी छ।
महोत्सवको सुरुवात पौष २४ मा नेपालका एकमात्र महामण्डलेश्वर १००८ स्वामी आत्मानन्द गिरिजी महाराज, १००८ स्वामी ज्ञाननन्द सरस्वतीजी महाराज, १००८ स्वामी श्री रमणानन्द गिरिजी महाराज, १००८ स्वामी श्री जगन्नाथाचार्यजी महाराज, तथा परम पूज्य श्री १००८ हरिशरण उपाध्यायजी महाराजको पवित्र आशीर्वाद र मार्गदर्शन र डा. श्री वास कृष्णदास ब्रह्मचारीको संयोजकत्वमा सम्पन्न हुनेछ । महोत्सवमा करिब ३० लाख भक्तजनको सहभागिता हुने अपेक्षा गरिएको छ । महोत्सवमा देश विदेशका ख्यातिप्राप्त देवी प्रतिभा, यशोदा माताजी, अनुराधा पाण्डेय, ओम प्रकाश सुवेदी, लगायत कथा वाचकहरूको दैनिक प्रवचन हुनेछ ।

विशाल पण्डालमा एकै पटक २० हजार भक्तजनले कथा श्रवण गर्न सक्ने व्यवस्था गरिएको डा. श्री वास कृष्णदास ब्रह्मचारीले बताए। आयोजक समितिले देवघाट महा महोत्सवले नेपाललाई विश्व स्तरीय धार्मिक पर्यटकीय क्षेत्रको रूपमा चिनाउने विश्वास लिएको छ। विश्व जागरण महा अभियान ट्रस्ट २०७१ सालमा दर्ता भई धार्मिक, सामाजिक, र सांस्कृतिक क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्दै आएको छ। ट्रस्टको नेतृत्वमा भरतपुर महानगरपालिका वडा नं. १, चितवनस्थित आश्रममार्फत विभिन्न धार्मिक, सामाजिक, र परोपकारी सेवाहरू सञ्चालन भइरहेका छ । यस आश्रमले स्थानीय मात्र होइन, देश विदेशबाट आउने भक्तजनहरूलाई समेत सेवा प्रदान गर्दै आएको ईश्वर कृष्ण महाराजा भनाई छ।

आश्रम परिसरमा पञ्चमुखी शिव लिङ्ग र भव्य राधाकृष्ण मन्दिर (सिसमहल) स्थापना गरिएको छ। दैनिक पूजा अर्चना, भजन कीर्तन, र प्रवचन कार्यक्रम यहाँ नियमित रूपमा सञ्चालन हुँदै आएका छन् । आश्रमले भक्तजनहरू र सेवाग्राहीहरूका लागि निःशुल्क भोजन सेवा उपलब्ध गराइरहेको छ। भने यहाँ अहिले २२ जनाको सङ्ख्यामा वृद्ध बुवा आमाहरूले नियमित रूपमा आवास, भोजन र सेवा लिई रहनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.