स्वास्थ्यका सरकारी गाडीमा जिपिएस जडान गरेर ‘डिजिटल निगरानी’
दाङ- लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय मातहतका कार्यालय, अस्पताल तथा स्वास्थ्य संस्थाका सरकारी सवारी साधनको डिजिटल निगरानी गरिने भएको छ । अब चार पांग्रे सरकारी सवारी साधनमा जिपिएस जडान गरेर निगरानी गरिने भएको हो ।
सवारी साधनको विद्युतीय निगरानी गर्ने उद्देश्यले अनिवार्य रुपमा सवारी साधनमा जिपिएस जडान गर्ने निर्णय गरिएको र कार्यान्वयनमा ल्याउन मातहतका निकायमा परिपत्र गरिएको मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्री खेमबहादुर सारुले सेवा प्रवाहलाई प्रभावकारी र चुस्त बनाउन कार्यालय प्रमुखहरु तथा चिकित्सकहरु चढ्ने सवारी साधनमा जिपिएस जडान गरेर निगरानी गर्न थालिएको बताउनु भयो ।
डिजिटल निगरानी गर्नुको मुख्य उद्देश्य सेवा प्रवाहसँग जोडिएको, कार्यालय प्रमुख, जिम्मेवार व्यक्ति नियमित कार्यालयमा रहने, पुरा समय बस्ने र सेवा प्रवाहलाई चुस्त बनाउनेसँग जोडिएको छ ।
लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको आर्थिक बर्ष २०८०\०८१ को प्रादेशिक समिक्षा कार्यक्रममा जारी घोषणपत्रमा कार्यालयमा रहेका सरकारी सवारी साधनको विद्युतिय निगरानीको व्यवस्था मिलाउने उल्लेख थियो ।
त्यो घोषणपत्र कार्यान्वयन गर्न सरकारी साधनमा अनिवार्य जिपिएस जडान गर्न मातहतका निकायमा पत्राचार गरिएको स्वास्थ्य सचिव डा.बासुदेव उपाध्यायले बताउनु भयो ।
मन्त्रालयले स्वास्थ्य निर्देशनालय, प्रादेशिक आपुर्ति व्यवस्था केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, स्वास्थ्य तालिम केन्द्र, १४ वटा अस्पताल, १२ वटा स्वास्थ्य कार्यालयहरु, प्रादेशिक आयूर्वेद चिकित्सालय, लुम्बिनी प्रदेश आयूर्वेद चिकित्सालयलका सरकारी सावारी साधनमा जिपिएस जडान गर्न थालिएको हो । करिब ४० वटा सरकारी चार पांग्रे सवारी साधन स्वास्थ्य मन्त्रालय मातहतका कार्यालयमा रहेको जनाइएको छ ।
प्रतिक्रिया राख्नुहोस्