तकिया भनेर लोपोन्मुख हाँसको पखेटा भन्सार पास गराउन खोज्दा…

रुपन्देही- रुपन्देहीको बेलहिया नाका हुँदै तकिया भनेर आयात गरिएको वस्तुमा आयातकर्ताले ढाट छली गरेको पाइएको छ ।

आयातकर्ताले घोषणा गरेभन्दा फरक वस्तु पाइएपछि भैरहवा भन्सार कार्यालयले सामान जफत गरी मूल्य बराबरको जरिवाना तिराएको छ ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-४ स्थित सुगरमिलको मल्लिक टेडर्सले भारतको मेसर्स ए ‌एच टेडर्सबाट पिलो तकिया भनेर सामान आयात गरेको थियो ।

भन्सार कार्यालयमा आएर पनि उक्त सामानलाई तकिया नै भनि घोषणा गरेर जाँचपास गराइयो । तर, भन्सार अधिकृतहरुलाई शंका लागेपछि उक्त सामानमाथि चेकजाँच गरियो ।

चेकजाँचका क्रममा तकिया नभई कुनै पंक्षीको पखेटा जस्तो देखिएपछि भन्सार कार्यालयमा रहेको प्रयोगशालामा परीक्षण गरिएको छ । परीक्षणका क्रममा उक्त सामान तकिया पिलो नभई पंक्षीको पखेटा भन्ने रिपोर्ट आयो ।

भैरहवा भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले भन्सारको प्रयोगशालाले कुन पंक्षी भनेर छुट्याउन नसकेपछि उक्त स्याम्पल केन्द्रीय विधिविज्ञान प्रयोगशालामा पठाएको र त्यहाँबाट लोपउन्मुख लेकाली जीवजन्तु अन्तर्गत पर्ने हरियो टाउके हाँसको पखेटा भनेर पुष्टिसहितको रिपोर्ट आएको जनाउनु भयो ।

भन्सारको प्रयोगशालामा परीक्षणका क्रममा आयातकर्ता मल्लिक टेडर्सले घोषणा गरे भन्दा फरक सामान घोषणा गरेपछि भन्सार कार्यालयले जरिवाना गरेको छ ।

सामान जफत गरी उक्त टेडर्सलाई सामान बराबर रु १ लाख ५८ हजार जरिवाना स्वरुप तिराईएको कार्यालयले जनाएको छ । उहाँका अनुसार ३७ वटा ठूला बोरामा ल्याइएको उक्त सामान १ लाख ५८ हजार मूल्यको रहेको आयातकर्ताले घोषणा गरेको थियो ।

भन्सार ऐनमा घोषणा गरिएको वस्तुभन्दा फरक भएमा सामान जफत गरी घोषणा गरिएको मूल्य बराबर जरिवाना गर्नसक्ने व्यवस्था छ ।

विधिविज्ञान प्रयोगशालाको रिपोर्टपछि भन्सारले उक्त सामानबारे थप बुझ्न र अनुसन्धानका लागि यही डिभिजन वन कार्यालय पठाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.