भोलिदेखि माघ ३ गतेसम्म पिएसबी ‘प्रि-लञ्चिङ्ग’ का कार्यक्रमहरु हुँदै

काठमाडौँ-  नेपाल टेलिभिजन र रेडियो नेपाल सार्वजनिक सेवा प्रसारण (पिएसबी)मा रूपान्तरण भएको सन्दर्भमा भोलि माघ १ गतेदेखि विभिन्न दस वटा सत्रमा गहन छलफलसहित पिएसबी पूर्वारम्भ (Pre Launching) कार्यक्रम आयोजना हुँदैछ ।

भोलिदेखि माघ ३ गतेसम्म पूर्वारम्भ कार्यक्रम सञ्चालन गरिनेछ । नेपाल टेलिभिजनमा माघ १ गते उद्‌घाटन हुने र सोही दिनदेखि नै विषयगत छलफल (Panel Discussion) शुरु हुने छ ।

माघ १ गते पिएसबीको अन्तर्राष्ट्रिय अभ्यास र लोकतन्त्रको सबलीकरण एवं राष्ट्र निर्माणको विषयमा विषय विज्ञ तथा सरोकारवालाहरूसँग Panel Discussion हुनेछ ।

यसैगरी, दोश्रो दिन माघ २ गते नैसर्गिक अधिकारको रुपमा रहेको शिक्षा र स्वास्थ्य सेवामा आम मानिसको पहुँच, विपद्को तयारी र विपद् व्यवस्थापनमा सरोकारवाला निकायहरूसँगको सहकार्य, जनमुखी सूचना तथा सञ्चारमा सार्वजनिक सेवा प्रसारणको भूमिका एवं महत्व र राष्ट्रिय एकता लगायतका विषयमा सम्बन्धित विषयका विज्ञहरूसँग सेसनहरु हुनेछन ।

यसैगरी, तेश्रो दिन माघ ३ गते पिएसबी सञ्चालन र स्थायित्व एवम् प्राविधिक रूपान्तरण एवं डिजिटल प्लेटफर्मको प्रयोग जस्ता विषयमा गहन छलफल हुने पिएसबीका अध्यक्ष डा महेन्द्र विष्टले जानकारी दिनुभयो ।

पिएसबीमा नेपाल टेलिभिजन र रेडियो नेपालको सहज रूपान्तरण एवं सही सञ्चालनका साथै संस्थाको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना निर्माण गर्न महत्त्वपूर्ण मार्गदर्शन प्राप्त हुने विश्वासका साथ जनसरोकारका विविध विषयगत छलफल आयोजना गरिएको अध्यक्ष डा विष्टको भनाइ थियो ।

भोलिदेखि सुरु हुने पूर्वारम्भ कार्यक्रमको उद्‍घाटन सत्र र समापन सत्र तथा विषयगत छलफलको रेडियो, टिभी र डिजिटल प्लेटफर्मबाट प्रत्यक्ष प्रसारण गरिने छ ।

माघ ३ गते रेडियो नेपालको प्राङ्गणमा कार्यक्रमको समापन हुनेछ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.