यस्तो छ संघीय बजेट कार्यान्वयनको अवस्था
काठमाडौँ- सरकारले चालु खर्चका लागि विनियोजित ७ खर्ब ३१ अर्ब ७९ करोडमध्ये पुस मसान्तसम्म २ खर्ब ६६ अर्ब ८५ करोड खर्च भएको जनाएको छ ।
अर्थमन्त्रालयले आज चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनाको प्रमुख आर्थिक सूचकबारे जानकारी गराउँदै पछिल्लो छ महिनाको संघीय बटेज कार्यान्वयको अवस्था सार्वजनिक गरेको हो ।
त्यस्तै पूँजीगत तर्फ कुल विनियोजित ३ खर्ब ५२ अर्ब ३५ करोड मध्ये ६ महिनामा ५६ अर्ब ९४ करोड खर्च भएको छ । यो वार्षिक विनियोजनको तुलनामा १६.२ प्रतिशत खर्च हो ।
यसैगरी वित्तीय व्यवस्थातर्फ विनियोजित ३ खर्ब ६७ अर्ब २८ करोडमध्ये पुस मसान्तसम्म १ खर्ब ५८ अर्ब ६६ करोड खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ । यो वार्षिक विनियोजनाको तुलनामा ४३.२ प्रतिशत खर्च हो ।
मन्त्रालयका अनुसार चालु आव पहिलो ६ महिनामा ९८ अर्ब ७९ करोड रुपैयाँ बराबर वस्तु निर्यात भएको छ । गत आव सोही अवधिमा भने ७४ अर्ब ९७ करोडको निर्यात भएको थियो ।
त्यसैगरी पहिलो ६ महिनामा ८ खर्ब २२ अर्ब ३७ करोड बराबरका वस्तु आयात भएको छ । यो ७.१ प्रतिशतले बढेको हो । गत आव पहिलो ६ महिनामा भने ७ खर्ब ६८ अर्ब १७ लाखको आयात भएको थियो ।
अर्थ मन्त्रालयका अनुसार चालु आव पहिलो ६ महिनामा राजस्व १२.७ प्रतिशतले वृद्धि भएको छ । गत आव सोही अवधिमा भने ८.२ प्रतिशतमात्र रहेको थियो ।
प्रतिक्रिया राख्नुहोस्