कविता:धन्न म निर्मला भइन
झस्किन्छु, ब्यूँझिन्छु, ओहोहो, कहाली लाग्छ जब सम्झिन्छु त्यो साँझ
पटकपटक लेख्छु, पटकपटक मेट्छु, जब पस्किन खोज्छु, त्यो मेरो कथा सबैको माझ ।
कहाँबाट आयो खै यस्तो साहस, सोच्छु अहिले छ कि छैन?
कसरी लडें, कसरी बचाए, आफ्नो अस्तित्वलाई अहिले सोच्छु धन्न म निर्मला भइन ।
विद्यार्थी भई टोपलिएकि म, मन जाग्यो पकेट खर्च उठाउन
बिहान बेलुका कलेज आउने जाने, लागे साँझमा ट्युसन पढाउन ।
बसको ठेलम ठेलको यात्रा, मौका उठाउनेको तँछाडमछाड नै चल्थ्यो
अब्यूज सानातिना भइनै रहन्थ्यो, त्यो त सब ठूलो सहरमा सहनैपथ्र्यो ।
त्यो मेरो कालो दिनमा, कलेज ट्युसन गर्दै म लखतरान परी थाकेकी थिएँ
लामो बाटो हिँड्न सक्दिन कि भन्दै, बाटो छोट्याउन लागेकी थिएँ ।
त्यति परिचित भाकी त थिइन त्यो बाटोसँग, थिए अलिक पातलो बस्ती
अँधेरीयो बाटो हिँड्दा हिँड्दै, लोडसेडिङको आतंकले थियो धेरै नै सास्ती ।
खस्र्याक खुस्रुक्क, टक्रयाक–टुक्रुक गर्दै कोही, मेरै पछिपछि लागे जस्तो
पाइला पाइला मेरो, लम्कियो छिटो तर ती पाइला मैतिर दौडेको भागेको जस्तो ।
पछाडिबाट च्याप्प पार्दै मेरो छातीमा उसले आफ्नो हात बिसाउन थाल्यो
कस्तो दह्रो, कस्तो अजंगको छायाँ देखे अगाडी, मन डरले अत्तालियो
कहाँबाट खै के पो भयो, जोडले सारा साहस ओइरो लागे
“चोर साले छोड मलाई” भन्दै, जोडले उसलाई घचेट्न लागें ।
त्यो अजङ्गको छाँया थोरै डगमगायो, उसको हात फुकाई बसे थचक्क भुइँमा
छामछुम पार्न थाले यताउता, ऊ तिर फ्याँके हातले भेटेजतिका धुलो र ढुंगा ।
चार खुट्टाले टेक्दै अलि पर पुगे, खै त्यो कालो छायाँ ठिङ्ग उभिएको थियो, लग्थ्यो केही डरै थिएन
बेस्सरी चिच्याए, हेल्प भनि जोडले कराए, खोइत कोहीले सुनेन् की, कोही पनि आएन ।
मेरो साहस देखेर, थोरै डगमगाए पनि, ऊ कति निडर थियो, ठिङ्गसँग सानले उभिएको
म डरले काम्दा त्यो अजङ्गको छाँया, न डराको न भागेको, एकदम निस्फिक्री को ।
त्यो रात मेरो व्यथा हेर्न, छेलिएको जुनले मेरो साक्षी बस्यो
धन्न बचायौँ आफूलाई नानी, कति विलिन भए मेरोमा भन्दै नजिकैको झ्याङले गुनासो पोख्यो ।
शरीर काँपीरह्यो मेरो महिनौंसम्म, सोच्थेँ किन लामो बाटो गइन
धेरै रात सुत्न गाह्रोभो मलाई, अहिले सोच्छु धन्न म निर्मला भइन ।
छाँया मात्र देखेपनि, सोच्छु रिपोर्ट गर्न किन गइन
खैर ती रिपोर्ट रिपोर्टमै सिमित हुन्थे होला, अहिले सोच्छु धन्न म निर्मला भइन ।
लड्न नसकेर म शिथिल भाको भए, त्यो राक्षसले कताकता छुन्थ्यो होला
लडन नानी तिमी त बरै भन्दै त्यो जुन मसँगै रुन्थ्यो होला ।
कलम समाई समाजका कुरीति लेख्छु भन्ने मेरा हात, विचरा त्यही रात भाँचिन्थे होला
खराब रिति र अन्यायसँग लड्छु भन्ने बिचरा मेरो, आवाज भित्रभित्रै दबिएर निस्सासिन्थे होला ।
चल्दै नचलेको शरीर र लुटिएको अस्मितालाई पन्छाउदै, त्यो झ्याङबाट अघि सारिन्थ्यो या सर्थे होला
बलात्कृत हुनुमा गल्ति मेरो नभए पनि, समाज खुशी पार्न फेरि आफ्नो लासलाई दिनकै मार्ने प्रयास गर्थे होला ।
कि त पीडाको चित्कारसँगै मेरो शरीरले आत्मालाई बिदाइ गथ्र्यो होला
सितसँग चिसिएको बिचरा म, कैयौ रात नभेटिएर गनाएर कुहिएर मर्थे होला ।
टाढा भाका बा–आमालाई केही भन्ने आँट आएन ,सोचे आखिर बलात्कारै त भाको होइन
मनमा डर हुर्किंदै गयो बेस्सरी, अहिले सोच्छु धन्न म निर्मला भइन ।
न्याय पाउने आशै आशमा मेरा बा–आमा पीडामा पनि अघि सर्थे होलान्
छोरी गुमाउने पीर त हुन्थ्योनै, नचाहिँदो कलङ्कले दिनकै मर्थे होलान् ।
रद्द हुन्थे होला फाइल मेरा, खुल्ने बन्द हुने क्रमै चल्दा
न्याय दिने ठेकेदारलाई बकाउने चल्थ्यो होला फेरि धमिलो धन्दा ।
बलात्कारी फेरि उम्किन्थ्यो, सबुत निसाना फेरी मेटिनथे, पैसाको आडमा लागि पर्थे होला सबले बलात्कारी हौस्याउन
कति छटपटिनथे होला म, ती हजारौं निर्मलासँगै, लाशले कहाँ सक्छ र बरै बलात्कारी झुन्ड्याउन ।
हुन त हजारौंमा थोरै मात्र निर्मला छन् बाँचेका, जो लुटिएर पनि समाजमा नयाँ आयाम ल्याउन भ्याएका छन्
आफ्नो भोगाइ र पीडाबाट लड्दै र सिक्दै धेरै निर्मलालाई जीवन बाँच्न सिकाएका छन् ।
थुईक्क तँ जस्तो नरपिचासले गर्दा कति अबोध नानी तेरा हवास सिकार भए
डर यस्तो भयानक फैलाईस तैले, छोरी पाउने आमा–बा तर्सित हुँदै गए ।
कसैको विश्वास भएन यहाँ, होस काका, मामा, शिक्षक, दाइ, भिनाजु या बाउ नै
लुटिएका छन् दिनदहाडै नानीहरू, हजारौं ती निर्मला जस्तै ।
झस्किन्छु फेरि जिरिङ्ग हुन्छु, यो सब निदाउँदा देखेका सपना पक्कै होइन
लडे, दौडे, भागे आफैलाई बचाए, कठैबरै म ती अबोध नानी निर्मला जस्तो धन्न भइन ।
कठैबरै म ती अबोध नानी निर्मला जस्तो धन्न भइन !!
रोशनी खड्का प्याकुरेल- हाल–मेलबर्न भिक्टोरिया, अस्ट्रेलिया बस्नुहुन्छ ।
प्रतिक्रिया राख्नुहोस्