उर्जामन्त्री खड्का र भारतका विद्युतमन्त्री खट्टरबीच भेट
दुई देशको उर्जा विकासका विविध विषयमा छलफल

काठमाडौँ- उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का र भारतका विद्युतमन्त्री मनोहरलाल खट्टरबीच भेटवार्ता भएको छ ।
‘इण्डिया इनर्जी वीक–२०२५’ मा भाग लिन भारतको नयाँदिल्ली पुग्नुभएका मन्त्री खड्काले आज भारतका समकक्षी खट्टरसँग भेटवार्ता गर्नुभएको हो । भेटमा नेपाल भारतबीचको उर्जा विकासका विविध विषयमा छलफल भएको थियो ।
उर्जामन्त्री खड्काले गत नोवेम्बर ५ मा नयाँदिल्लीमा भारतका विद्युतमन्त्री खट्टरसँग भएको भेटमा इनरुवा–पूर्णिया र दोदोधारा–बरेली ४०० केभी अन्तरदेशीय प्रसारण लाईन निर्माण प्रारुपमा सहमति गरेसँगै उक्त प्रसारण लाईन अगाडि बढाउन माघ ९ गते दुई देशबीचको सहसचिवस्तरिय बैठक र माघ २९ गते सचिवस्तरिय बैठक बसेर मोडालिटीबारे सहमति भएकोमा भारतीय विद्युतमन्त्रीलाई धन्यवाद दिनुभयो ।
उर्जामन्त्री खड्काले गत वर्षको नोबेम्बर १५ मा नेपालबाट भारतीय प्रसारण लाईन हुँदै बङ्गलादेश विद्युत निर्यात गर्न भारतले गरेको सहयोगप्रति भारत सरकारलाई धन्यवाद दिनुभयो । मन्त्री खड्काले नेपालले सुख्खायामको पिक आवर (बेलुका ६ बजेदेखि १० बजेसम्म) मा भारतीय पावर एक्सचेञ्जको विद्युत उपलब्ध हुन नसकेको भन्दै २४ सै घण्टा विद्युत उपलब्धताको स्वीकृत दिन माग गर्नुभयो ।
हाल भारतले नेपाललाई एक हजार मेगावाट विद्युत उपलब्ध गराउँदै आएपनि पिक आवरमा भने उपलब्ध गराएको छैन । उर्जामन्त्री खड्काले नेपालको आफ्नै लगानीमा निर्माण भएको तामाकोशी जलविद्युत आयोजनाको विद्युत निर्यातका लागि स्वीकृत गर्न ध्यानाकर्षण गराउनुभयो ।
उर्जामन्त्री खड्काले यसअघिको भारत भ्रमणका क्रममा भारतीय विद्युतमन्त्री खट्टरलाई नेपाल भ्रमणका लागि निम्तो दिनुभएपनि आजको भेटमा फ्रेबुवरी अन्तिम साता नेपाल भ्रमण हुनेगरी छलफल भएको छ ।
भेटमा भारतका विद्युतमन्त्री खट्टरले नेपालको उर्जा क्षेत्रको विकासमा सँधै भारतको साथ र सहयोग रहेको बताउनुभएको थियो । उहाँले दुई देशबीचको विद्युत विकासलाई आपसी छलफल र सहकार्यमार्फत अगाडि बढाउने बताउनुभएको थियो । भारतका विद्युतमन्त्री खट्टरले भारतीय कम्पनीले नेपालमा बनाइरहेका आयोजनाको आवश्यक सहजीकरण गर्न आग्रह गर्नुभएको थियो ।
भेटमा मन्त्री खड्कासँगै उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव सुरेश आचार्य, मन्त्रालयका वरिष्ठ उर्जा विज्ञ प्रबल अधिकारी, मन्त्रालयका सहसचिव सन्दिपकुमार देव, मन्त्रीका आर्थिक सल्लाहकार अमित श्रेष्ठलगायत सहभागी हुनुहुन्थ्यो ।
यस्तै, भारतीय तर्फबाट विद्युतमन्त्री खट्टरसँगै विद्युत सचिव पङ्कज अग्रवाल र भारतको विद्युत संस्था एनएचपीसीका अध्यक्ष आरके चौधरीको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया राख्नुहोस्