यस वर्ष हरिबोधनी एकादशी आज र भोलि, शेषनारायणमा मेला लाग्ने

काठमाडौं- प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिन मनाइने हरिबोधिनी एकादशी यस वर्ष स्मृतिमा आधारित भई कर्म गर्नेले आज र वेदमा आधारित भई कर्म गर्नेले भोलि मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम आजको एकादशी तिथि ५९ घडी नाघी भोलि बिहान अरुणोदयकालमा पनि तिथि रहेको बताउनुहुन्छ । दशमी र एकादशी तिथि पहिलो दिन ५६ घडी नाघेमा दोस्रो दिन पनि हुन्छ भन्ने शास्त्रीय मत छ ।

एकादशी तिथि ५६ घडी नाघेका दिन स्मृतिलाई आधारमानी कर्म गर्ने अर्थात् स्मार्तले एकादशी मनाउँछन् । यसै कारण आलाई स्मार्तानां एकादशी व्रत भनी समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख गरिएको उहाँले जानकारी दिनुभयो ।

वेदमा आधारित भई कर्म गर्नेले अरुणोदयकालमा एकादशी तिथि परेको दिन तिथि मनाउने गर्छन् । सूर्योदय हुनुअघिको चार घडीलाई अरुणोदय भनिन्छ । यो एकादशी यस वर्ष भोलि मंसीर ११ गते परेको समितिले जनाएको छ । जसलाई वैष्णवानां एकादशी अर्थात् वैष्णवको एकादशी भन्ने गरिएको छ ।

शेषनारायणमा मेला लाग्ने

दक्षिणकाली नगरपालिका-५ मा पर्ने चार नारायणमध्येको एक शेषनारायण मन्दिरमा भने हरिबोधनी एकादशीका अवसरमा आज र भोलि दुवै दिन मेला लाग्ने भएको छ ।

मन्दिर व्यवस्थापन समितिको अध्यक्षसमेत रहनुभएका वडाध्यक्ष श्यामबहादुर खत्री विद्यालयसमेत खुलिसकेको अवस्थामा वर्षमा एकदिन धेरै भक्तजन आउने मन्दिर बन्द नगरिएको बताउनुहुन्छ ।

मन्दिर खुले पनि भौतिक दूरी कायम गरेरमात्र दर्शन गराइने उहाँले सुनाउनुभयो । नगर क्षेत्रका स्थानीयवासीले ११ गते एकादशी मनाउने भएकाले त्यस दिन नगरपालिकाले नगर क्षेत्रमा स्थानीय बिदासमेत दिएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.