बनेपाको प्रसिद्ध एतिहासिक चण्डेश्वरी जात्रा आज सम्पन्न हुँदै

काभ्रे- काभ्रेको बनेपामा बैशाख पुर्णिमाको दिन लाग्ने प्रसिद्ध एतिहासिक चण्डेश्वरी जात्रा आज सम्पन्न हुँदैछ । वैशाख शुक्ल पूर्णिमा, अघिल्लो दिनदेखि शुरु भएको जात्रा आज सम्पन्न हुँदैछ ।

जात्राको अवसरमा प्रत्येक वर्ष बनेपाको चण्डेश्वरी मन्दिरमा ठूलो मेला लाग्ने गर्दछ । जात्रा शुरु भएदेखि बनेपा आसपासका नेवारी बस्तीहरुमा रौनकता छाएको छ । चण्डेश्वरी जात्रा बनेपाली नेवार समुदायको लागि एक महत्वपूर्ण चाड पनि हो ।

जात्राको पहिलो दिन बिहान सबेरै मत पूजा (चिराग यात्रा) निकालिन्छ । बनेपाका बासिन्दाले धिमे, नायिखं, छुस्या लगायत विभिन्न बाजागाजासहित आस्था भएका सबैले आ–आफ्नो घरबाट चिराग बोक्दै बनेपाको लाय्‌कुमा जम्मा भई जलेश्वर महादेव (जसिगा) सम्म पुगेर विसर्जन गरिन्छ । मत पूजासँगै औपचारिक रुपमा जात्रा शुरु भएको मानिन्छ ।

जात्रामा पूर्णिमाकै दिन बनेपाको तीनधारामा बनाइएको पांग्रा नभएको खटलाई भेडा बलि दिइएपछि देवता नभएको खाली खटलाई बिभिन्न बाजागाजासहित युवाहरुले बोकेर ल्हाका पालुं हाः भन्दै चण्डेश्वरी पुर्‍याउने प्रचलन छ ।

खटलाई मन्दिर नजिक पुर्‍याएपछि विधिपूर्वक पूजा गरी चण्डेश्वरी देवीको मूर्तिलाई खटमा राखिन्छ । दोस्रो दिन आज सोही स्थानमा रहेको देवी सहितको खटलाई विधिपूर्वक पूजाआजा सकेर पुनः खटलाई बनेपाको वकुटोलतर्फ ल्याउने गरिन्छ ।

लामो इतिहास बोकेको चण्डेश्वरी जात्रालाई बनेपालीहरुले विशेष श्रद्धा र आस्थाका रुपमा लिने गर्दछन् । चण्डेश्वरी मन्दिर भित्र रहेका पिगं देवताहरुलाई १२ वटा बोका बली दिने गरिन्छ ।

१२ वटा बोकामध्ये एउटा बोका द्वारे र अर्को बोका जोशीलाई दिइने चलन छ भने बाँकी बोकाको मासु कलंदान गरिन्छ । कलंदान जात्रामा मासुलाई प्रसाद स्वरुप भीडमा फालिने परम्परा रहिआएको छ । कलंदान पछि मूर्तिलाई सानो खटमा राखेर पुनः चण्डेश्वरीमा पुर्‍याएपछि जात्रा सकिने गर्दछ ।

दैत्यराज चण्डासुरलाई बनेपाको चण्डेश्वरीमा अवस्थित रक्तचन्दन वनमा कुमारी चण्डेश्वरी प्रकट भइ चण्डासुरलाई मार्न प्रयास गरिन् तर सकिनन् । त्यसपछि उनी भगवतीको रुपमा प्रकट भएर चण्डासुरको बध गरी देवगणको रक्षा गरेको किंवदन्ती छ ।

यसैको खुसीयालीमा हरेक बर्ष चण्डेश्वरी जात्रा मनाइँदै आएको धार्मिक कथन छ । जात्रा हेर्न काठमाण्डौ उपत्यका लगायत सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप लगायतका देशभरबाट बनेपा आउने गर्दछन् ।

जात्रा मनाउन बनेपा नगरपालिकाले आज सार्वजानिक विदा दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.