तत्काल एमआरपि सहितको लेवल लगाउन सक्दैनौं: निजीक्षेत्र

रुपन्देही- स्वदेशमा उत्पादित तथा नेपालमा आयात हुने उत्पादनहरुमा अनिवार्य रुपमा मुल्यसहितको लेबल लगाउनुपर्ने सरकारको निणर्यलाई रुपन्देहीका निजी क्षेत्रले बिरोध जनाएका छन् ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीसहित निजी क्षेत्र सम्बद्ध विभिन्न संघ–संस्थाहरुले मुल्य सहितको लेबलको अनिवार्य प्रावधान अव्यवहारिक रहेको बताउदै कार्यन्वयन गर्न नसकिने बताएका छन् ।
सिद्धार्थ उद्योग वाणिज्य संघले भैरहवामा पत्रकार सम्मेलन गरी सरकारले ७ दिनको समय सीमा तोकेर अनिवार्य (एमआरपी) सहितको लेबल लगाउनुपर्ने सूचनाप्रति गम्भिर ध्यानआकृष्ट भएको जनाएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट जारी नेपाल राजपत्रको मिति २०८१ चैत १४ को सूचना अनुसार चैत २० देखि एमआरपीसहितको लेबल लगाउनुपर्ने अनिवार्य गरेको थियो ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष नेत्र प्रसाद आचार्यले कोभिड–१९ र विश्वव्यापी मन्दी लगायत बैंक ब्याज, विद्युत महसुललगायतका कारण संकट परेका उद्योगहरुलाई छोटो समय दिएर गरिएको सूचना समयसापेक्ष नभएको बताउनु भयो ।
अध्यक्ष आचार्यले निजी क्षेत्र एमआरपीसहितको लेबलको पक्षमा भएको तर, सरकारले हचुवाको भरमा लागू गर्न खोज्नु गलत भएको बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले यहाँको भौगोलिक विविधता तथा विकटताको कारण एमआरपी पनि स्थान अनुसार फरकफरक राख्नपर्ने नीति हुनुपर्ने बताउनु भयो । उहाँले व्यापक छलफल गरी एमआरपीलाई वैज्ञानिक बनाउनुपर्ने बताउनु भयो ।
नेपाल उद्योग वाणिज्य महासंघका उद्योग समितिका सभापति राजेश कुमार अग्रवालले निजी क्षेत्रसँगको छलफल बिना लागू गरेको एमआरपीसहितको लेबललाई कार्यान्वयन गर्न जटिलता हुने बताउनु भयो ।
र सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही सहित वीरगञ्ज उद्योग वाणिज्य संघ, मोरङ उद्योग व्यापार संघ र नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले संयुक्त प्रेस विज्ञप्ति जारी गरी विरोध जनाएका छन् ।






प्रतिक्रिया राख्नुहोस्