विवाहितताहरूले श्रीमान्‌को दीर्घायु र सुखका लागि मनाए वट सावित्री पर्व

 सुनसरी-  मधेसी समुदायका विवाहित महिलाहरूले आज श्रीमान्‌को अखण्ड सौभाग्य र परिवारको कल्याणको कामना गर्दै धार्मिक श्रद्धा र विधिपूर्वक वट सावित्री पर्व मनाएका छन्। सुनसरी जिल्लाको इनरुवा, दुहबी, खनार र आसपासका मधेसी बाहुल्य क्षेत्रका गाउँहरूमा आज बिहानैदेखि महिलाहरू वर (बर) को रुख मुनी जम्मा भएर पूजा-अर्चना गर्दै व्रत बसेका छन्।

यस पर्वमा महिलाहरू बिहानै चोखो भएर स्नान गरी नयाँ वस्त्र र गहना लगाएर, पूजा सामग्री जस्तै बाँसबाट बनाइएका पङ्खा, रङ्गिन धागा, चना, फलफूल, मिठाई आदि बोकेर बरको रुखमुनि पुग्छन्। त्यहाँ उनीहरूले व्रतको कथा सुन्छन्, वरको रुखलाई धागो बेरेर प्रार्थना गर्छन् र त्रिदेव—ब्रह्मा, विष्णु, महादेवको आराधना गर्छन्।

धार्मिक र ऐतिहासिक पृष्ठभूमि
वट सावित्री पर्वको उल्लेख प्राचीन स्कन्दपुराण लगायतका ग्रन्थहरूमा पाइन्छ। धार्मिक मान्यताअनुसार, बरको रुखको जरामा ब्रह्मा, हाँगामा विष्णु र पातपातैमा महादेवको वास हुन्छ भन्ने विश्वास छ। त्यसैले बरको रुखमुनि पूजा गर्दा त्रिदेव प्रसन्न भई पतिका दीर्घायु, सुस्वास्थ्य र पारिवारिक सुख-शान्ति मिल्ने विश्वास गरिन्छ।

पर्वको उत्पत्तिसँग जोडिएको कथा अनुसार, सतिव्रता सावित्रीले आफ्ना पति सत्य वानको अकाल मृत्यु भएपछि यमराजसँग मृत्युलाई पराजित गर्दै आफ्ना पतिलाई पुनर्जीवन दिलाउन सफल भइन्। उनी यमराजको पछ्याउँदै बरको रुखमुनि पुगेकी थिइन्, र आफ्नो अदम्य पतिव्रता शक्तिका कारण यमराजलाई जितेकी थिइन्। त्यसैको सम्झनामा महिलाहरूले आज पनि बरको रुखमुनि बसेर पूजा गर्ने परम्परा निर्वाह गर्छन्।

आजको दिन व्रत बसेका महिलाहरूले बिहानदेखि निराहार रही साँझ श्रीमान्को हातबाट जल ग्रहण गरेपछि मात्र व्रत समापन गर्छन्। यसलाई पतिव्रता धर्म र पारिवारिक समर्पणको अनुपम उदाहरणका रूपमा लिइन्छ।

स्थानीय मठमन्दिरहरू र वर वृक्ष वरिपरि आज महिलाहरूको उल्लेख्य भीड देखिन्थ्यो, जसले मधेसी समुदायको धार्मिक निष्ठा र सांस्कृतिक पहिचानलाई झल्काउँथ्यो। समाजका अग्रजहरूले भने, “यस्ता पर्वहरूले हाम्रो संस्कृति र परम्परालाई जीवित राख्नुका साथै परिवारमा एकता र समर्पणको भाव बढाउँछन्।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.