काठमाडौँ विश्वविद्यालयको ३०औँ दीक्षान्त,१ हजार १२९ विद्यार्थी दीक्षित हुँदै

काभ्रे – काभ्रेको धुलिखेलमा रहेको काठमाडौँ विश्वविद्यालयको ३०औँ दीक्षान्त समारोह (दोस्रो चरण) जेठ ३० गते शुकबार हुने भएको छ । जसमा १ हजार १२९ विद्यार्थी दीक्षित हुँदै छन् । दीक्षान्त समारोह प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा विश्वविद्यालयको केन्द्रीय परिसर धुलिखेलमा हुने कार्यक्रम रहेको विश्वविद्यालयकी प्रवक्ता एक्कुमाया पुनले जानकारी दिनुभयो ।
अमेरिकास्थित माउन्ट साइनाई हेल्थ सिस्टम्सका प्रमुख कार्यकारी अधिकृत ब्रेन्डन जी कारको प्रमुख आतिथ्य र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री तथा सहकुलपति रघुजी पन्तको उपस्थितिमा उक्त कार्यक्रम आयोजना हुने छ । विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा. डा. अच्युत वाग्लेले स्वागत मन्तव्य दिनुहुने छ ।
समारोहमा काठमाडौँ विश्वविद्यालयबाट स्कुल अफ आर्ट्सका १६३ जना, स्कुल अफ एजुकेसनका १०२ जना, स्कुल अफ इन्जिनियरिङका ६८ जना, स्कुल अफ म्यानेजमेन्टका ११० जना विद्यार्थी दीक्षित हुँदै छन् । यस्तै स्कुल अफ मेडिकल साइन्सेजका ६६१ जना र स्कुल अफ साइन्सका २५ जना गरी जम्मा १ हजार १ सय २९ जना विद्यार्थी दीक्षित हुनेछन् ।
समारोहमा विश्वविद्यालयका आर्ट्स, एजुकेसन, इन्जिनियरिङ, म्यानेजमेन्ट, मेडिकल साइन्सेज र साइन्स सङ्कायका पिएचडी तहका १४ जना, डीएम तहका ८ जना, एमसीएच तहका १० जना, एमफिल तहका ६९ जना, स्नातकोत्तर तहका ५ सय १३ जना, पीजीडी तहका ४ जना र स्नातक तहका ५ सय ११ जना रहनेछन् ।
दीक्षित हुने विद्यार्थीहरूमध्ये पुरुषको प्रतिशत ५ सय ७५ जना र महिलाको ५ सय ५४ जना) रहनेछ । दीक्षित हुने विदेशी विद्यार्थीहरू भुटान, भारत, श्रीलङ्का र मालदिभ्स गरी ४ देशका ११८ जना अर्थात् १०.४५ प्रतिशत छन् ।
३० औँ दीक्षान्त समारोहको दोस्रो चरणको कार्यक्रमसम्ममा गरी काठमाडौँ विश्वविद्यालयबाट ४७ हजार ८ सय ३१ जना उत्तीर्ण भएका छन् । जसमध्ये ५ हजार ६ सय ५० जना विदेशी विद्यार्थी रहेका पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।






प्रतिक्रिया राख्नुहोस्