झाडीले पुरियो पाख्रिवासको बृहत् कफी योजना

धनकुटा-  धनकुटाको पाख्रिवास नगरपालिकाले पाँच वर्ष अघि ठुलो उत्साह र आशाका साथ सुरु गरेको कफी विकास कार्यक्रम अलपत्र परेको छ। नगरपालिका तथा प्रदेश सरकारले गरेको करोड बढीको लगानी बालुवामा पानी झैँ भएको छ।  नगर र प्रदेश सरकार मिलेर १ करोड ३२ लाख रुपैयाँ खर्च गरिएको पाख्रिवासको कफी योजनामा अहिले न बिरुवा बाँकी छ, न त पूर्वाधार काम लाग्ने अवस्थामा छन्। यो कार्यक्रम २०७७ सालमा तत्कालीन नगर प्रमुख वृष बहादुर राईको पालामा सुरु गरिएको थियो। नगरपालिकाले झन्डै ३२ लाख रुपैयाँ खर्चेर अनुसन्धान, कफी बिरुवा उत्पादन, नमुना कफी बगान र अन्य तयारीमा खर्च गरेको थियो। प्रदेश सरकारबाट आएको १ करोड रुपैयाँ कफी प्रशोधन भवन, हाई टेक नर्सरी र पहुँच मार्ग निर्माणमा प्रयोग गरिएको थियो। तर अहिले करिब ५ लाख बिरुवा झाडीमा परिणत भएको छ। ६० रोपनीमा लगाइएको नमुना कफी बगान नष्ट भइसकेको छ। कफी प्रशोधनको लागी निर्माण गरिएको भवन र हाई टेक नर्सरी तोडफोड हुँदा कामै नलाग्ने अवस्थामा पुगेको छ।

धनकुटाको पाख्रिवास नगरपालिकाले पाँच वर्षअघि ठुलो आशाका साथ सुरु गरेका कार्यक्रम मध्ये कफी कार्यक्रम एक हो। पुरै पालिकालाई कफीमय बनाउने उद्देश्यका साथ सुरु गरिएको यो कार्यक्रम पालिकाको नेतृत्व परिवर्तन भएसँगै कफी कार्यक्रम जीर्ण अवस्थामा छ। पुरानो नेतृत्वले अघि बढाएको काम नयाँ नेतृत्वले अपनत्व ग्रहण नगर्दा एक करोड ३२ लाख रुपैयाँ स्वाहा भएको छ।  कफी कार्यक्रम अघि बढाउन तथा हुर्किएको बिरुवा व्यवस्थापन गर्न पटक पटक आग्रह गर्दा पनि वर्तमान जनप्रतिनिधिले बेवास्ता गरेको पाख्रिवास नगरपालिका वडा नम्बर ८ का निवर्तमान वडाध्यक्ष सिताराम राई बताउनु हुन्छ। बिक्री गर्ने अवस्थाका करिब पाँच लाख बिरुवा काम नलाग्ने अवस्थामा पुगेको उहाँको भनाई छ। उहाँका अनुसार नगरपालिकाले धनकुटाको हिलेमा रहेको तेखिमे कृषि परामर्श केन्द्रको सहकार्यमा वृहत् कफी योजना कार्यक्रम सुरु गरिएको थियो।

तत्कालीन नगर प्रमुख राईले पूर्वाधार निर्माणको लागी पालिकालाई चार रोपनी जग्गा दिएर भवन तथा हाई टेक नर्सरी निर्माण गरिएको थियो। त्यस्तै नमुना बगान उहाँकै  बारीमा बनाइएको थियो। त्यसपछि सो कार्यक्रममा भ्रष्टाचार भएको भन्दै २०७९ सालमा अख्तियारमा उजुरी परेको थियो। त्यसै वर्ष ज्ञान बहादुर गुरुङ नगर प्रमुखमा निर्वाचित भएपछि नयाँ नेतृत्वले यो योजनाको मुद्दा अख्तियारमा परेको भन्दै कुनै पनि काम अघि बढाएन। त्यस्तै कफीको लागी तयार गरिएको पूर्वाधार लगायतको नगरपालिकाको सम्पत्ति संरक्षणमा समेत नगरपालिकाले अहिलेसम्म चासो देखाएको छैन। जसले गर्दा अहिले सबै पूर्वाधार जीर्ण अवस्थामा छन्। कफी प्रशोधन भवनको लागि बनेको भवनको झ्याल ढोका फुटिसकेका छन्। भवन भित्र भवन बन्द गरेर नगरपालिकाले चाबीसम्म लगाएको छैन। यता हाई टेक नर्सरीमा प्रयोग हुने धेरै सामाग्री भत्किसकेको छ। अन्य पूर्वाधारमा समेत धेरै क्षति पुगिसकेको छ। पाख्रिवास नगरपालिकाका प्रमुख ज्ञान बहादुर गुरुङ अख्तियारमा उजुरी परेकाले आफूहरूले हात नहालेको बताउनु हुन्छ। “यो हामी आउनु भन्दा पहिले सुरु भएको योजना हो पछि यो योजनाको बारेमा अख्तियारमा उजुरी प¥यो हामीले उजुरी परेको काममा हामीले हात हालेनौ” गुरुङ भन्नु हुन्छ। अख्तियारले मुद्दाको छिनोफानो नगरेका कारण समस्या भएको छ र अख्तियारले यो मुद्दा चाँडो टुङ्गाइदिनु पर्छ अनि काम गर्न सजिलो हुन्छ गुरुङ थप्नु हुन्छ।

यता अख्तियारले भने उजुरी परे पनि अख्तियारले काम अघि बढाउन नरोकेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रदेश कार्यालयले जनाएको छ। कार्यालयका सूचना अधिकारीका देवी प्रसाद थपलियाले अख्तियारमा उजुरी परे पनि आफूहरूले काम रोक्न नभनेको, पत्राचार नगरेको बताउनु हुन्छ। “हामीले उहाँहरूलाई काम रोक्न पत्राचार गरेको छैनौ उहाँहरूले काम अघि बढाउन सक्नु हुन्छ” थपलिया भन्नु हुन्छ। निवर्तमान प्रमुख वृष बहादुर राई भने यो योजना बाँझो जमिनमा कफी खेती बढाउने उद्देश्यले सुरु गरिएको र यसले समग्र पालिकालाई फाइदा पुग्ने भएकाले यो कार्यलाई निरन्तरता दिनुपर्ने माग राख्दै आउनु भएको छ। निरन्तरता दिइएको भए किसानले फाइदा पाउने राईको भनाइ छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.