२५ वर्ष निरन्तर पत्रकारिता गर्ने महिला पत्रकारको लागि पेन्सनको माग

 चितवन – २५ वर्षसम्म निरन्तर पत्रकारितामा सक्रिय महिला पत्रकारलाई पेन्सनको व्यवस्था गर्नुपर्ने मागसहित बागमती प्रदेश महिला पत्रकार भेला सकिएको छ ।

पत्रकार महासंघ बागमती प्रदेशको आयोजनामा चितवनको भरतपुरमा सम्पन्न दुई दिने भेलाले १२ बुँदे चितवन घोषणापत्र जारी गरेको छ । घोषणापत्रमा पत्रकारिता पेशामा लामो समयदेखि क्रियाशिल महिलाहरूको जीवनयापन सुरक्षित गर्न पेन्सनको व्यवस्था हुनुपर्ने उल्लेख गरेको छ । समिक्षा पाण्डे संयोजकत्वको मस्यौदा समितिले तयार पारेको घोषणापत्रमा महिला पत्रकारका पेशागत र भौतिक सुरक्षाका विषयदेखि सामाजिक सुरक्षासम्मका मुद्दा समेटिएका छन्।

विशेषगरी मातृत्वकालीन जिम्मेवारी बहन गरिरहेका महिला पत्रकारका लागि विशेष फेलोसिप कार्यक्रम ल्याइनुपर्ने, पत्रकार महासंघमा स्तनपान कक्ष स्थापना गर्नुपर्ने, सामाजिक सुरक्षा कोष, स्वास्थ्य बीमा र दुर्घटना बीमाको गरिनुपर्ने माग गरिएको छ  ।

त्यसैगरि, सरकारी अस्पतालमा निशुल्क उपचारका व्यवस्थाका साथै स्तन तथा पाठेघर क्यान्सर परीक्षण निशुल्क गरिनुपर्ने माग गरिएको छ ।

घोषणापत्रले तीनै तहका सरकारहरूलाई सञ्चारमैत्री नीति निर्माण गर्न र महिलाले सञ्चालन गरेका सञ्चारमाध्यमलाई विशेष सहुलियत, विज्ञापन तथा अनुदान दिनुपर्ने विषय प्राथमिकताका साथ उठाएको छ ।

भेलाको उद्घाटन महासंघका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले गरेका थिए भने समापन समारोहमा महासंघकी केन्द्रीय उपाध्यक्ष नितु पण्डितको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेशकी उपाध्यक्ष तथा महिला विभाग संयोजक विमला पाण्डेले बागमती प्रदेशका महिला पत्रकारकोलागि अवसर, चूनौती लगायतका विषय समेटेर अवधारणापत्र प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.