कोशी टप्पुमा मलाहा बिरालो संरक्षणमा सरोकारवालाको संयुक्त पहल

सुनसरी-  सुनसरी र कोशी टप्पु वन्यजन्तु आरक्षमा पाइने दुर्लभ र संकटापन्न प्रजातिको मलाहा बिरालो (Fishing Cat) को संरक्षण तथा वर्तमान अवस्थाबारे छलफल गर्न एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा स्थानीय समुदाय, संरक्षणकर्मी, अनुसन्धानकर्ता तथा विभिन्न सरोकारवाला निकायको सहभागिता रहेको थियो ।

कार्यक्रम कोशी टप्पु वन्यजन्तु आरक्ष, राष्ट्रिय प्रकृति संरक्षण कोष (कोशी प्रदेश) तथा फिसिङ क्याट कन्जर्भेसन एलायन्सको सहकार्यमा आयोजित गरिएको थियो । आरक्षका वरिष्ठ संरक्षण अधिकृत भुपेन्द्र प्रसाद यादवका अनुसार कार्यक्रममा सहभागिताले मलाहा बिरालोको संरक्षणप्रति समुदायमा थप चेतना फैलिएको छ ।

संरक्षणको अभावमा संकटमा मलाहा बिरालो

नेपालको तराई क्षेत्रमा पाइने यो दुर्लभ बिरालो प्रजातिको हो, जसलाई स्थानीय भाषामा ‘मलाहा बिरालो’ भनिन्छ। विशेषगरी सिमसार, नदी किनार तथा दलदलीय क्षेत्रमा बसोबास गर्ने यो जनावर माछा खानमा निकै दक्ष हुन्छ ।
मलाहा बिरालोका बारेमा अनुसन्धान तथा विद्यवारिधि गर्नु भएको विज्ञरमा मिश्रले बताइन्, “यस प्रजाति बारे समुदायमा भ्रम छ, जसका कारण मानिसबाट नै यसलाई खतरा हुन थालेको छ। यसको जीवनशैली, बासस्थान र सिकार गर्ने तरिका अन्य बिरालोभन्दा फरक हुन्छ। यसले पानी प्रतिरोधी रौँ, झिल्लिदार खुट्टा तथा रबरजस्तो पुच्छरको प्रयोग गरेर कुशलतापूर्वक पौडन्छ र माछा समात्छ।”

तर, सिमसार क्षेत्रको विनाश, माछाको संख्या घट्नु, तथा मानवद्वारा निर्मित माछा पोखरीमा राखिएका कुकुरहरूले मलाहा बिरालोलाई खतरामा पारेका छन्। मिश्रका अनुसार, यस्तो अवस्थाले मलाहा बिरालोको संख्या दिनप्रतिदिन घटिरहेको छ।

नेपालमा अझै वैज्ञानिक अनुसन्धानको अभाव

नेपालमा हालसम्म मलाहा बिरालोको विस्तृत वैज्ञानिक सर्वेक्षण वा जनगणना सम्पन्न भएको छैन। तर प्रारम्भिक अनुमान अनुसार देशभर ५ सय वटासम्म मलाहा बिरालो रहेको अनुमान गरिएको छ । नेपालमा सुनसरीदेखि कञ्चनपुरसम्म यसको उपस्थितिको अभिलेख छ, भने संरक्षित क्षेत्रहरूमध्ये कोशी टप्पु वन्यजन्तु आरक्षमा २० ,चितवनमा ९ देखी २५ वटा सम्म सुक्लाफाटम ९ वटा सम्म भएको तथ्याक रहेको छ। त्यसतै पर्सा, र बर्दिया राष्ट्रिय निकुञ्जहरूमा यसको उपस्थित रहेको छ ।

यसका अतिरिक्त, बारा, कपिलवस्तु र सुनसरीका माछा पोखरी क्षेत्रहरूमा पनि मलाहा बिरालोको उपस्थिति देखिएको छ। मिश्रका अनुसार, “तराई क्षेत्रमा माछा पोखरी निर्माण बढिरहेको छ, तर यस्ता क्षेत्रमा संरक्षणको दृष्टिकोण भने कमजोर छ। संरक्षण रणनीति नअपनाए यो प्रजाति नेपालबाट लोप हुने खतरामा छ।”

नेपालका लागि यो प्रजातिको पारिस्थितिक महत्वसम्बन्धी जनचेतना अभिवृद्धि गर्नुपर्नेमा सरोकारवाला निकायहरू एकमत छन्।
मलहा विरोलो नेपाल बाहेक भारत,पाकिस्तान,बङ्गलादेश, श्रीलकां, कम्बोडिया ,थाइल्याण्ढ र म्यानमारमा सहित आठ देशमा मलहका विरालोको उपस्थित पाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.