विद्युत् कटौतीले वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका उद्योग समस्यामा

पर्सा- वीरगञ्जका उद्योगी-व्यवसायीले अघोषित विद्युत् भार कटौती र विद्युत् कटौतीको समस्याले वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका उद्योगधन्दा समस्यामा परेको गुनासो गरेका छन् ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि गौतमले औद्योगिक करिडोरमा दैनिक औषतमा आठ घण्टाभन्दा धेरै विद्युत् कटौती हुँदै आएको आरोप लगाउनुभयो ।

“बारा पर्सा औद्योगिक करिडोरमा विद्युत् आपूर्तिमा समस्या छ । औसत दिनको आठ घण्टा अघोषित विद्युत् भार कटौतीको सामना गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, “यहाँ दिनको १०–१२ पटक ट्रिपिङ हुन्छ । जसले गर्दा यस क्षेत्रका उद्योगले आफ्नो क्षमताको ३०-३५ प्रतिशत उत्पादनमात्र गर्न सकेका छन् ।”

अध्यक्ष गौतमले २०७५ सालमा औद्योगिक क्षेत्रको विद्युत् भार कटौतीमुक्तको घोषणा गरी नेपालभरि हर्षोल्लास मनाइएको छ–सात वर्ष नबित्दै पुनःपूर्ववत् अवस्था झैँ विद्युत् भार कटौती हुन थालेपछि उद्योगी-व्यवसायीलगायत सर्वसाधारणमाझ चिन्ता बढेको प्रेस विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।

“यस क्षेत्रमा सिमेन्ट, फलाम र स्टिल, पशुदाना, खाद्यान्न, औषधि, चुरोट आदिसहित करिब एक हजार २०० उद्योग छन् । उद्योगका लागि विद्युत् कच्चा पदार्थ हो । विद्युत् नभई उद्योग सञ्चालन हुन सक्दैन ।

यस क्षेत्रमा सहज विद्युत् आपूर्ति नभएकाले त्यसको असर मुलुकको अर्थतन्त्रमा नै नकारात्मक रुपमा परिरहेको छ”, अध्यक्ष गौतमले भन्नुभयो । सङ्घले विद्युत् आपूर्तिमा भएको हेलचेक्र्याइँका कारण उद्योग प्रतिष्ठानको करोडौँ रकमको औद्योगिक उपकरण खराब भइरहेको दाबी गरेको छ ।

नेपाल विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख अवधेश दुबेले माग र आपूर्तिबीच सन्तुलन नहुँदा केही समय कटौती भए पनि उद्योगी-व्यवसायीले भनेजस्तो आठ घण्टा नै विद्युत् भार कटौती नभएको दाबी गर्नुभयो ।

“अत्यधिक गर्मीले माग र आपूर्तिबीच ताममेलमा केही समस्या छ”, उहाँले भन्नुभयो, “सो समस्या समाधानका लागि आवश्यक प्रयास गरिरहेका छौँ ।” यो करिडोरमा दैनिक औषतमा ३०० मेगावाट विद्युत् आवश्यक पर्ने बताइन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.