जनताको बहुदलीय जनवादका प्रणेता मदन भण्डारी : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्रीे केपी शर्मा ओलीले जननेता मदनकुमार भण्डारी जीवनका लागि सिद्धान्तको कोणमा बदल्ने अगुवा रहेको बताउनुभएको छ ।

७४ औँ मदन भण्डारीको जयन्तीका अवसरमा सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले आज नेपालको कम्युनिष्ट आन्दोलनलाई सिद्धान्तका लागि जीवन होइन, जीवनका लागि सिद्धान्तको कोणमा बदल्ने अगुवा नेताका रुपमा रहेको बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “नेपालको कम्युनिष्ट आन्दोलनलाई सिद्धान्तका लागि जीवन होइन, जीवनका लागि सिद्धान्तको कोणमा बदल्ने अगुवा, जननेता मदन भण्डारीको आज ७४ औँ जन्मजयन्ती । जनताको बहुदलीय जनवादका प्रणेता जननेता मदन भण्डारीप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु ।”

यसैबीच, आज तत्कालीन नेकपा (एमाले)का महासचिव मदन भण्डारीको ७४औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदै छ ।

एमाले र मदन भण्डारी फाउण्डेशनले आज विविध कार्यक्रम गरी जननेता भण्डारीको जन्मजयन्ती मनाउन थालेको हो ।

एमाले सम्पर्क समन्वय कमिटीले आज जयन्तीकै अवसरमा पदयात्रा गरेको छ । कमिटीको आयोजनामा आज ७ः३० बजेदेखि ८ः३० बजेसम्म त्रिपुरेश्वरदेखि दशरथरङ्गशालादेखि तीनकुनेसम्म पदयात्रा गरिएको कमिटीका सचिव आरसी लामिछानेले जानकारी दिनुभयो । पदयात्रामा पार्टी महासचिव शङ्कर पोखरेल, स्थायी कमिटी सदस्य लालबाबु पण्डित सहभागी हुनुहुन्थ्यो ।

यस्तै आज दिवस फाउण्डेशनका आयोजनामा राष्ट्रियसभा गृहमा ‘जबजका तीन दशक’ विषयक अन्तक्र्रिया कार्यक्रम राखेको छ । अन्तक्र्रिया कार्यक्रममा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुनुहुनेछ ।

एमालेले मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज)लाई पार्टीको सिद्धान्त बनाएको छ । एमालेले पाँचौँ राष्ट्रिय महाधिवेशनवाट जबजलाई नेपाली क्रान्तिको मौलिक कार्यक्रमका रूपमा पारित गर्दै सिद्धान्त बनाएको हो ।

मदन भण्डारी २०४६ सालमा भएको नेकपा (माले)को चौथो महाधिवशेन र २०४७ सालमा नेकपा (माले) र नेकपा (माक्र्सवादी) बीच एकता भई नेकपा (एमाले) पनि महासचिव बन्नुभएको थियो । यस्तै एमालेको २०४९ सालमा भएको पाँचौँ महाधिवेशनबाट पनि उहाँ महासचिवमा चुनिनुभएको हो । मदन भण्डारी २०४८ सालका संसदीय निर्वाचनमा काठमाडौँ क्षेत्र नं १ बाट निर्वाचित हुनुभएको थियो ।

विसं २००९ असार १४ गते ताप्लेजुङ जिल्लाको ढुङ्गेसाँघुमा आमा चन्द्रकला र बुबा देवीप्रसादका माइला छोराका रूपमा जन्मिनुभएको भण्डारी २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा जीप दुर्घटना हुँदा निधन भएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.