श्रमदानबाटै पुल निर्माण

रामेछाप- बर्षायामसँगै बाढीले खोला तर्न समस्या भएपछि रामेछापको मन्थली नगरपालिका वडा नं ८ चिसापानीका किसानहरुले बफर खोलामा श्रमदान जुटाएर अस्थाइ पुल निर्माण गरेका छन् ।
बफर खोलामा आउने बाढीले आवतजावतमा समस्या भएपछि किसानहरु श्रमदान गरेर भएपनि पुल निर्माणमा जुटेका हुन् । पुल निर्माणका लागि श्रमदानका अतिरिक्त सामग्री खरिदका लागि किसानहरुले नगद पैसा समेत उठाएका छन् ।
खोलाको बाढीले बगाउने त्रासमा खेती गर्न जान बाध्य हुनुपरेकाले गाउँलेहरु मिलेर बफर खोलामा पुल निर्माणका लागि सामग्री खरिद गर्न प्रति परिवार तीन सय रुपैयाँका दरले नगद समेत उठाएको किसानहरुले बताएका छन् ।
खोलामा पुल निर्माणका लागि एक सय परिवारले श्रमदान र नगद समेत उठाएको उक्त वडाका वडा अध्यक्ष गोपाल श्रेष्ठले बताउनु भयो ।
पुल निर्माणपछि गाउँका एक सय घरपरिवारका पाँच सय भन्दा बढी व्यक्तिहरु लाभान्वित भएको वडा अध्यक्ष श्रेष्ठ बताउनु हुन्छ । उक्त कामका लागि वडाले पनि केहि सहयोग गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
वडाका किसानहरुलाई बफर खोला तर्नका लागि समस्या भएपछि आफ्नो वडाबाट उक्त पुल निर्माणका लागि जाली, पाइप, फलामका डन्डि र पाताहरु उपलब्ध गराएको वडा अध्यक्ष गोपाल श्रेष्ठले बताउनु भयो ।
पुल निर्माण पछि खैरेनी, करङ्गे, भ्यागुरे लगायतका खेतका फाँटहरुमा किसानहरुलाई खोला तर्नका लागि सजिलो भएको छ । उक्त अस्थाइ पुल करिब १ लाख ५० हजार रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको स्थानीयहरुले बताएका छन् ।






प्रतिक्रिया राख्नुहोस्