‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’का कलाकारसँग सभामुखको अन्तरक्रिया

काठमाडौं– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा सञ्चालित पहिलो अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’का कलाकारसँग अन्तरक्रिया गर्नुभएको छ ।
कार्यक्रममा सभामुख घिमिरेले ‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’ जस्ता सांस्कृतिक कार्यक्रमले विश्वभर छरिएका नेपाली समुदायका कला, संस्कृति र प्रतिभालाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्न महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “यस्ता कार्यक्रमले नेपाली भाषा, संस्कार र संगीतलाई प्रवास मात्र होइन, विश्व मञ्चमा पनि पहिचान दिलाउने अवसर प्रदान गरेका छन् ।” उनले नयाँ पुस्तामा नेपाली भाषा र सांस्कृतिक गर्वको भावना जागृत गराउन यस्ता सिर्जनात्मक प्रयासहरू प्रभावकारी हुने विश्वास व्यक्त गर्दै भन्नुभयो, “प्रवासमा रहेका नेपालीहरूको सामाजिक एकता, सांस्कृतिक संरक्षण र मुलुक विकासमा हुने योगदानको उच्च मूल्याङ्कन गर्नुपर्छ।”

इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाका कार्यकारी निर्देशक चुणामणि भट्टराईले दक्षिण अफ्रिका र अन्टार्टिकाबाहेक संसारभरका नेपालीहरू यस अभियानसँग प्रत्यक्ष अप्रत्यक्ष रूपमा जोडिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “करिब ६० मुलुकका नेपालीहरूले यस शोमामा योगदान गरेका छन् । २३ मुलुकका नेपाली मूलका कलाकारहरू नेपाल आउनुभएको थियो । अहिले पनि ७ मुलुकका कलाकार उत्कृष्ट १० भित्र छनौट भएका छन्।”

भट्टराईले भने, “अबको राष्ट्रियताको परिभाषा जहाँ नेपाली मन हुन्छ, त्यही हो। नेपाली कला र संस्कृति जोगाउन सक्यौं भने मुलुकको पहिचान पनि सधैं जीवित रहन्छ। हाम्रो अभियान सांस्कृतिक सम्पदा पुस्तान्तरण गर्ने उद्देश्यले अघि बढाइएको हो।”
सार्वजनिक प्रसारण संस्था (पीएसबी)का बोर्ड अफ डाइरेक्टर फुलमान वलले दुवै रियालिटी शोले सांस्कृतिक र राष्ट्रियताबीचको सम्बन्धलाई जोड्न सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “कला र संस्कृति नै सफ्ट पावर हो। सफ्ट पावर जति बलियो हुन्छ, राष्ट्रियता पनि त्यति नै दृढ बन्छ।”

अमेरिका, चीन र भारतजस्ता मुलुकहरूले कला र संस्कृति मार्फत आफ्ना मूल्य र पहिचानलाई बलियो बनाउँदै गएको उल्लेख गर्दै उहाँले ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ले सांस्कृतिक एकता मजबुत बनाएको बताउनुभयो ।

इन्ट्रा फाउण्डेसनका नेपाल च्याप्टर अध्यक्ष बाबुकृष्ण कार्कीले दुवै रियालिटी शो मार्फत विश्वभर रहेका नेपाली समुदायका कला, प्रतिभा र सांस्कृतिक सम्पदालाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने उद्देश्यमा सफलता प्राप्त गरेको बताउनुभयो । उहाँले आगामी दिनमा अझ ठूलो स्तरमा नेपाली कला र संस्कृति प्रचारप्रसार गर्ने, नयाँ प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउने र प्रवासी नेपालीबीच एकता सुदृढ योजना रहेको बताउनुभयो ।कार्यक्रममा दुवै रियालिटी शोमा उत्कृष्ट १० मा पर्न सफल कलाकारहरू, प्रशिक्षक, कोरियोग्राफरलगायत ४० भन्दा बढी प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.