जलवायु परिवर्तनको प्रभावः संकटमा चौरी खर्क

मनाङ नेपालको उच्च हिमाली भूभागमा पशुपालनका चरन क्षेत्र चौंरी खर्क हुन् । ती नेपालको मौलिक परम्परा, संस्कार, आर्थिक संरचना र पर्यावरणीय सन्तुलनको आधारशिला मानिन्छन् ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली जिल्लाहरूमा रहेका यी खर्कहरूमा आज पनि हजारौं परिवारको जीविकोपार्जनको स्रोत बनिरहेका छन् । तर, जलवायु परिवर्तन, जनशक्ति पलायन, आधुनिक प्रविधिको अभावजस्ता समस्याका कारण चौंरी खर्कको अस्तित्व संकटमा परेको छ ।

चौंरी खर्कको ऐतिहासिक पृष्ठभूमि, भौगोलिक अवस्था, आर्थिक योगदान, पर्यावरणीय महत्व, वर्तमान चुनौती र सम्भावनाहरूका बारेमा विश्लेषण गर्न आवश्यक छ ।

‘चौंरी खर्क’ उच्च हिमाली क्षेत्रको खुला चरन भूमि हो । जहाँ विशेष किसिमको गाई प्रजाति ‘चौंरी’ (याक) पालिन्छ । चौंरी उच्च हिमाली क्षेत्रमा पालिने पशु हो । याकचौरीले जाडो सहनुका साथै कम अक्सिजनमा बाँच्न सक्ने क्षमता हुन्छ । दुग्ध तथा रौँ उत्पादनका लागि उपयोग गरिन्छ । खर्कमा परम्परागत गोठ, सुत्ने ठाउँ, दुध दुहुने ठाँउ, घिउ बनाउने चुलो र चरनभूमि रहेको हुन्छ ।

चौंरी खर्कहरू समुद्री सतहबाट करिब तीन हजार मिटरदेखि पाँच हजार पाँच सय मिटर उचाइसम्म पाइन्छन् । मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला, रसुवा, दोलखा, सोलुखुम्बु, सङ्खुवासभा, ताप्लेजुङ लगायतका जिल्लामा व्यावसायिक चौरी पालक किसान रहेका छन् ।

पशुपंक्षी विकास विभागका अनुसार नेपालभर हाल करिब ३५ हजार खर्क रहेका छन् । तीमध्ये झन्डै १० हजार खर्क सक्रिय रूपले चौंरीपालनमा प्रयोग भइरहेका छन् ।

मनाङमा मात्र करिब एक हजार एक ५० खर्क सक्रिय छन् । यस्तै मुस्ताङमा ८५०, डोल्पामा एक हजार तीन सय, र सोलुखुम्बुमा करिब सात सय ५० खर्क सक्रिय छन् । डोल्पा, मुस्ताङ, मनाङ लगायतका ठाउँहरूमा व्यापक चरन क्षेत्र र चौरी पालन परम्परागत जीवनशैलीसँग गासिएको हुँदा खर्कहरूको संख्या बढी छन् । दोलखा, ताप्लेजुङलगायतका जिल्लामा खेतीयोग्य जमिन बढी भएकाले चौरी पाल्ने खर्कको घनत्व कम रहेको छ ।

चौंरी पालनको सामाजिकसांस्कृतिक पक्ष

चौंरी केवल आर्थिक स्रोत मात्र नभएर सांस्कृतिक पहिचान पनि हो । गुरुङ, शेर्पा, लामा, भोटे, तामाङ लगायतका समुदायमा चौंरीलाई देवीको रूपमा पूजा गरिन्छ । बौद्ध र बोन धर्मअनुसार चौंरीको रौँबाट बनाइने झण्डा र लुगाहरू पवित्र मानिन्छ ।

बिहे, चाडपर्व, तिथिमिति, मेलापात जस्ता कार्यहरूमा चौंरीको घ्यु, दही, छुर्पी र पनिर प्रयोग गरिन्छ । चौंरीको टाउको, सिङ र हड्डीहरूबाट धार्मिक सामग्री निर्माण गरिन्छ । यसैगरी, खर्कहरूमा प्रत्येक वर्ष मनाइने ‘याक डे’, ‘घ्यु पूजा’ आदी पर्वहरूले खर्क संस्कृतिको विशेषता उजागर गर्ने गर्दछन् ।

चौंरीको आर्थिक पक्ष

नेपालमा हाल करिब ८० हजार चौंरीहरू रहेको अनुमान छ । जसमा लगभग ६०% चौंरीहरू खर्क क्षेत्रमा पालिन्छन् । एक खर्कमा सामान्यतः १५ देखि ५० चौंरीसम्म पालिएको पाइन्छ ।

विगतमा सयौं याकचौरी पालन हुने गरेका मनाङ ङिस्याङ गाउँपालिका५ भ्राकाका याकचौरी पालक किसान ६२ वर्षीया यान्चु खण्टा भन्नुहुन्छ, “पहिला एउटै गोठ (खर्क)मा एक सय बढी पालन गरिएको हुन्थ्यो । अहिले घट्दै गएको छ ।”

खर्कमा नै दुध, घ्यु, छुर्पी, पनिर उत्पादन गरिन्छ । यी क्षेत्रमा प्रतिचौंरी वार्षिक औसत ३०० लिटर दूध उत्पादन गर्ने गरेको किसान खण्टाको भनाइ छ । करिब चार हजार मेट्रिक टन घ्यु वार्षिक उत्पादन हुने गरेको तथ्याङ्कमा उल्लेख छ ।

देशभरमा आठ हजार मेट्रिकटन छुर्पी उत्पादन हुने अनुमान छ । पनिर तीन हजार मेट्रिकटन पनि चौरीको दुधबाट उत्पादन हुँदै आएको तथ्याङ्क कृषि तथा पशुपंक्षी विभागले जनाएको छ । कृषि तथा पशुपंक्षी विभाग, गणनात्मक तथ्यांक विभाग वा स्थानीय पालिकाहरूको तथ्याङ्कमा आधारित रहेका छन् ।

एक मध्यम खालको खर्कले प्रतिवर्ष औसत पाँच देखि १० लाख रुपैयाँसम्म आम्दानी गर्न सक्ने अनुमान गरिएको छ । छुर्पी, घ्यु, चौंरीको रौँ र मल बिक्रीबाट हुने आम्दानीले हिमाली गाउँहरूमा आर्थिक स्तर वृद्धि सम्भव बनाएको छ ।

खर्कको व्यवस्थापन र संरचना

मुख्यतः याकचौरी पालन हुने क्षेत्रमा दुई किसिमका खर्क हुने गरेको पाइन्छ । स्थायी र मौसमी खर्क हुन्छन् । स्थायी खर्कमा वर्षैभर बस्न मिल्ने पक्की र कच्ची संरचना हुन्छ भने गर्मी र जाडोमा खर्क जाने र जाडोमा तल्लो भेगमा फर्कने प्रचलन रहेका छन् ।

हालसम्म स्थायी खर्क कम रहेको तथ्याङ्क पाइन्छ । मौसमी खर्कमा नै आधारित रहेका छन् । स्थायी खर्कमा घाँस, कुडोलगायतका आहारको व्यवस्थापनमा समस्या हुने भएकोले कम पाइने गरेको किसानको भनाइ छ ।

एकै गोठमा धेरै सङ्ख्यामा याकचौरी र भेडा पालन गरिन्छन् । जसले उनीहरुको आहारमा कमी भएर रोगी निस्कन्छन् । यसले आयभन्दा नोक्सान व्यहोनुपर्ने अवस्था हुनसक्छ ।

सचेतता अपनाउदै मौसमी खर्कलाई पशुपालक किसानले प्राथमिकता दिएको पाइन्छ । एक खर्कमा साधारणतयाः दुईदेखि पाँच जना गोठाला अर्थात खर्के (पशुपालक) रहने गर्दछन् । १० देखि ५० चौंरी पाल्ने र गोठको हेरचाह गर्ने, दूध दुहुने, घिउ पकाउने चुलो, र सुत्ने ठाउँ छुट्टाछुट्टै हुने व्यवस्था हुन्छ ।

पर्यावरणीय महत्व

चौंरी खर्कहरू जैविक विविधताको रक्षकको रुपमा लिन सकिन्छ । याकचौरी, भेडाच्याङ्ग्रा पालनले यहाँका प्राकृतिक क्षेत्रको संरक्षण गरेका छन् । यी पशुपालक किसानले आफ्ना पशुपंक्षीसँगै प्राकृतिक चरन भूमि संरक्षण, जलस्रोतको संरक्षण, वन्यजन्तुको बासस्थान सुरक्षा जस्ता काममा महत्वपूर्ण भूमिका रहेको छ ।

यहाँ पशुपालन मात्रै नभइ पर्यटन व्यवसाय र जडीबुटी उत्पादनको भूमि समेत भएकाले मानवीय जीवनलाई उर्जाशील बनाउन उपयोग हुने औषधीय जडीबुटीको संरक्षण पनि गरेका छन् ।

याकचौरी र भेडाच्याङ्ग्रा पालनको क्रममा खर्कमा पाइने घाँस, जडीबुटी र झारहरू जैविक उपचारका लागि समेत उपयोग भएको पाइन्छ । जसले गर्दा संरक्षणमा पनि टेवा पुगेको छ । चौंरी खर्क प्रणाली हाल विभिन्न समस्याहरूको चपेटामा परेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.