सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौरा आजबाट सुरु

सुदूरपश्चिम- सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौरा आजबाट सुरु भएको छ । पञ्च अन्न (बिरूँडा) भिजाउँदै अजबाट गौरा सुरु
भएको हो । गौरा पर्वको पहिलो दिन आज बिरुणपञ्चमी हो । आजका दिन महिलाहरूले बिहानै स्नान गरी घर
घरमा बिरुँडा राख्ने गर्दछन् । घरको एक कोठामा गाईको गोबरले लिपेर तामा–पितलका भाँडाको बाहिरपट्टि पाँच
ठाउँमा गाईको गोबर र दुबो लगाइ टीका र अक्षताले सिँगारेर धूप–बत्ती बालेर पञ्च अन्न गहुँ, मास, गहत, गोरुस र
कलौ भिजाएर भगवान महेश्वरको आह्वान गर्ने कार्यलाई बिरुँडा भन्ने गरिन्छ ।
आजको दिन महिलाहरूले माङ्गलिक गीतहरू गाउँदै गाउँका पँधेरो, खोला, नदीको मुहानमा बिरुँडा भिजाउँछन् भने
पञ्च वनस्पति (धान, साउँ, तिल, बेल र पाती) को पुत्ला बनाएर पँधेरामा राखी पूजा गर्ने र बिरुँडा लिएर मङ्गल गीत
गाउँदै घरमा ल्याएर राख्छन् । विवाहित महिलाले गौरा पर्वमा बर्त बसी कण्ठ सूत्र धारणा गर्नुपर्ने र पुरुष सरह
गायत्री जप गरी भोजन ग्रहण गर्ने परम्परा रहेको छ ।
भोली षष्ठीको दिन न्वाला, तलाउ, धारा तथा पानीको मुहानमा लगी बिरूँडा धुने चलन छ ।
सप्तमीका दिन महिलाले दिनभरि व्रत बसेर आफ्नो परिवारको सुख, समृद्धि र चिरायुको कामना गर्दै गौरा राख्ने
ठाउँमा महेश्वरको पूजा गर्ने चलन छ । सात गाँठो पारिएको दूर्वासहितको कण्ठ सूत्र (दुवधागो) पञ्च गव्य अभिषेक
गरी गौराको खुटृामा राख्ने गरिन्छ ।
अष्टमीका दिन रङ्गीचङ्गी कपडामा सजिएका महिलाले गौरा राख्ने ठाउँमा पञ्च वनस्पतिले बनाइएको गौराको
प्रतिमालाई रेसमी कपडाले सिँगारेर महेश्वरको प्रतिमासँगै बाहिर ल्याएर आसनमा राखी आठ अध्याय र आठ खण्ड
भएको अठेबालीमा गौरा र महेश्वरलाई शिरमा राखेर नाच्ने गर्दछन् ।
गौराका अवसरमा देउडा र ठाडो खेल खेलेर रमाइलो गरिन्छ । गौराको प्रसादका रूपमा बिरुँडा आफन्तलाई प्रसादका
रूपमा बाँडिने र भोलिपल्ट गौरा खेल्ने खेलाउनुका साथै देउडा गीत गाएर रमाइलो गर्ने गरिन्छ । गौरा पर्वमा नयाँ
कपडा लगाउनाका साथै सेल, पुरी र चामलको पिठोबाट बनेको माणा, खीर, मालपुवा, बटुकजस्ता शाकाहारी पकवान
खाने चलन रहेको छ ।





प्रतिक्रिया राख्नुहोस्