मेघौली–घटगाईका नेचर गाइड संरक्षण अभियानमा सक्रिय

चितवन — नेचर गाइडहरूले पर्यटकलाई मात्र वन्यजन्तु, चरा र वनस्पति देखाउने होइन, संरक्षण अभियानमै महत्त्वपूर्ण योगदान दिइरहेका छन्। चितवनको मेघौली–घटगाई नेचर गाइड एसोसिएसनमा आबद्ध गाइडहरूले संरक्षणलाई आफ्नो पेसासँगै जीवनशैलीकै हिस्सा बनाएका छन्।

२०८१ सालमा स्थापना भएको एसोसिएसनमा हाल ११४ जना गाइड सक्रिय सदस्य छन्। बिहीबार सम्पन्न दोस्रो साधारण सभामा अध्यक्ष मनेशकुमार लिम्बूले गाइडहरूले गरिरहेको संरक्षण गतिविधिबारे जानकारी दिँदै सर्प उद्धार र संरक्षण शिक्षा कार्यक्रमलाई विशेष महत्त्वपूर्ण कार्यका रूपमा प्रस्तुत गर्नुभयो।

लिम्बू स्वयं अनुभवी सर्प उद्धारकर्ता हुन्। उहाँका अनुसार यस वर्ष मात्र माडी र मेघौली क्षेत्रमा दुई वटा अति विषालु राज गोमन सर्प सुरक्षित उद्धार गरिएको छ। “कति सर्प उद्धार गरियो भन्ने त अब गन्नै छाडिएको छ,” उनले हाँसोमा भने। चितवनमा ‘सर्प देखे लट्ठी खोज्ने होइन, मनेशलाई बोलाऊ’ भन्ने भनाइ नै प्रचलित भएको उहाँको अनुभव छ।

यससँगै गाइडहरूलाई सर्प पहिचान तालिम दिइएको छ भने दुर्लभ चरा जस्तै गिद्ध, लाटोकोसेरो, खोयाहाँस उद्धार गर्नेदेखि अति दुर्लभ खरमयुरको नियमित अनुगमनसम्मको कार्य भइरहेको अध्यक्ष लिम्बूले बताउनुभयो।

एसोसिएसनले नारायणी र राप्ती नदी किनारका विद्यालयहरूमा संरक्षण शिक्षा कार्यक्रम सञ्चालन गर्दै आएको छ। साथै गाउँमा पसेका बाघबारे सूचना आदान–प्रदान गर्ने कार्यले मानव–वन्यजन्तु द्वन्द्व न्यून बनाउन मद्दत पुगेको जनाइएको छ।

“नेचर गाइडहरूको स्वभाव नै संरक्षणमा समर्पित हुन्छ। यसै कारण हामीले रोजगारसँगै संरक्षणलाई पनि अघि बढाइरहेका छौं,” अध्यक्ष लिम्बूले भने।

कार्यक्रमका प्रमुख अतिथि चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा गणेश पन्तले नेचर गाइडहरूको सक्रियताले चितवनको जैविक विविधता संरक्षणमा महत्त्वपूर्ण योगदान पुगेको उल्लेख गरे।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.