बन्दाकोबीले मूल्य नपाउँदा धनकुटाका कृषक समस्यामा

धनकुटा-  धनकुटाका उच्च क्षेत्रका किसान यो सिजन बन्दाकोबी खेतीको उत्पादन लिन व्यस्त छन्। अहिले किसानले उत्पादन गरेको बन्दाकोबीको बिक्री गर्ने सिजन हो। तर बन्दाकोबी खेती गर्ने कृषक बर्सेनि मूल्यमा हुने उतार चढावका कारण  समस्यामा पर्ने गरेका छन्। उत्पादन राम्रो भएको वर्ष मूल्य नपाउने गरेका किसानले मूल्य भएको वर्ष उत्पादन कम हुने गरेको बताउँदै आएका छन्। हरेक वर्ष हुने यस्तो समस्याले आम कृषकलाई सताउने गरेको छ।

धनकुटा नगरपालिका वडा नं. २ गुराँसेका कृषक चन्द्रबहादुर सारू मगर अहिले बन्दाकोबी खेतीमा व्यस्त हुनुहुन्छ। अहिले बन्दा बिक्री गर्ने र पुन नयाँ बोट लाउने सिजन हो। मगर सहित बन्दाकोबीको खेती गरेका किसानको बारीमा छरछिमेक सबै भेला भएर अहिले बन्दाकोबी काट्न, प्याकिङ गर्न र बिक्री गर्न जुटिरहेका छन्। बन्दा बिक्री भए पनि मगरलाई लगानी उठ्ने चिन्ता छ। गत वर्ष उत्पादन राम्रो नहुँदा समस्यामा पर्नु भएको मगर यो वर्ष भने उत्पादनले मूल्य पाउँदा चिन्तित हुनुहुन्छ। यो वर्षको मूल्यले बिउ र मलकै लगानी नउठाउने मगरले बताउनु भयो। गत साल प्रतिकिलो २४ रुपैयाँसम्म पाउनु भएका मगरको बारीमा यस वर्षको भन्दा आधा जति मात्रै बन्दाकोबी उत्पादन भएको थियो। गत वर्ष बन्दाकोबी बिक्रीबाट १ लाख ५० हजार रुपैयाँ लिनुभएका उहाँले यो वर्ष उत्पादन दोब्बर हुँदा पनि ६० हजार रुपैयाँको मात्रै उत्पादन भएको बताउनु भयो।

धनकुटाका उच्च क्षेत्रहरू हिले, त्रिशूले, गुराँसे, फलैँचा, जोरपाटी, सिधुवा, नाम्जाङ, चित्रे, घुमाउने लगायतको स्थानमा धेरै मात्रामा बन्दाकोबीको खेती हुने गरेको छ। यो वर्ष बन्दाकोबीले मूल्य पाउँदा धनकुटाका उच्च क्षेत्रका कृषक चिन्तित छन्। गत वर्ष राम्रा मूल्य पाए पनि उत्पादन राम्रो थिएन। यो वर्ष उत्पादन राम्रो छ तर मूल्य राम्रो छैन। व्यापारीले मनलाग्दी मूल्य निर्धारण गर्दा समस्या हुने गरेको किसान गोविन्द सारू मगरको भनाइ छ। अहिलेको मूल्यले मल किनेको पैसा तिर्न समेत समस्या भइरहेको उहाँको भनाइ छ। उहाँले बन्दाकोबी काटेर सडकसम्म पुर्‍याउन पनि अहिलेको मूल्यले नपुग्ने गुनासो गर्नुभयो।

अहिले बन्दाकोबी ५ रुपैयाँ प्रति किलोमा बिक्री हुँदै आएको छ। तर बन्दाकोबी प्रतिकिलो १० रुपैयाँ प्रतिकिलो भन्दा बढी हुँदा मात्र लगानी उठ्ने कृषक इन्द्र सारू मगरको भनाई छ। उहाँले पटक पटक मूल्यको उतारचढाव भाग्दै आएका आफूजस्ता कृषकलाई राहत दिन सरकारले मूल्य निर्धारण गरी दिनुपर्ने माग गर्नुभयो।

उत्पादन गर्ने किसानले भए पनि व्यापारीले मूल्य निर्धारण गर्ने गरेको मगरको भनाइ छ। अहिले ५ रुपैयाँमा हुँदा समस्यामा परे पनि किसानले धेरै नाफा नखोजेको लागेको परिश्रमको पैसा पाए हुने भन्ने लागेको उहाँले बताउनु भयो। लागत मूल्य १० रुपैयाँ प्रतिकिलो भएकाले १५ रुपैयाँसम्म पाएमा किसान खुसी हुने बताउनु भयो। उहाँले किसानले ५० रुपैयाँ प्रतिकिलो हुनुपर्छ भनेर वा धेरै नाफा हुनुपर्छ भनेर नखोजेको उहाँको भनाइ छ। अन्य देशमा सरकारले हरेको कुराको मूल्य निर्धारण गर्ने गरेको भए पनि नेपालमा त्यसो नहुँदा किसान सबैभन्दा बढी मारमा परेको सारू मगरको भनाइ छ।

धनकुटामा एक सिजनमा मात्र करिब १५ सय हेक्टर क्षेत्रफलबाट ४० हजार मेट्रिक टनको हाराहारीमा बन्दा उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र धनकुटाले जनाएको छ। धनकुटामा एक वर्षमा २ सिजनसम्म बन्दाकोबीको उत्पादन हुने गरेको छ। धनकुटामा उत्पादन भएको बन्दा तराईको झापा, मोरङ, सुनसरी सहित छिमेकी देशहरू भारत तथा बङ्गलादेशसम्म पुग्ने गरेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.