आँखाको उपचारपछि बृद्धबृद्धा दङ्ग

रामेछाप – उमेरले ९१ वर्ष नाध्न लागेकी मीनकुमारी खत्रीलाई आइतबार खुसीको सीमा रहेन । जिल्ला सदरमुकाम मन्थलीमा सञ्चालित आँखा शिविरमा आँखाको शल्यक्रिया भएपछि उनको खुसीले सीमा नाघेको हो । मोतिया विन्दु रोगबाट पीडित खत्रीको एउटा आँखा उक्त रोगका कारण बन्द थियो ।
१० वर्ष पछाडि आँखा खुलेपछि मीनकुमारीलाई नयाँ जन्मको अनुभूति भएको छ । जिल्लाको खाँडादेवी गाउँपालिका वडा नं ३ भिर पानीबाट मन्थलीको शिविरमा आउनु भएका मीनकुमारीको शनिवार दिउसो आँखाको शल्यक्रिया भएको हो । लामो समयदेखि आँखा बन्द भएकाले परिवारका सदस्यलाई पनि चिन्न नसकेको बताउने मीनकुमारीलले अहिले आफूलाई नयाँ जन्म पाएको अनुभूति भएको बताउनु भयो । उपचारका बारेमा सामान्य जानकारी समेत नहुँदा लामो समय सम्म रोग पालेर बस्न बाध्य भएको बताउने मीनकुमारी जस्तै धेरै आँखाका रोगीहरू उपचार पाएकोमा दङ्ग परेका छन् । उपचारमा संलग्न चिकित्सकहरूलाई भगवान् सरह भएको ठान्ने आँखाका रोगीहरूले गरिब भएकै कारण गाउँमा धेरै जनाले यस्तो दुःख झेल्नु परेको बताए ।
शिविरमा मीनकुमारी जस्ता थुप्रै रोगीहरूले आँखाको उपचार पाएका छन् । आर्थिक अभाव र अन्धविश्वासका कारण लामो समयसम्म उपचारबाट वञ्चित रहेका ग्रामीण बासिन्दाहरूको अहिले मन्थलीमा उपचारको ओइरो लागेको छ । गरिबिका कारण रोगको पहिचान भएर पनि उपचार गर्न नसकेको बताउने आँखाका रोगीहरू जिल्लामा नै संन्चालन भएको शिविरबाट राम्रोसंग लाभान्वित भएको बताउँछन् ।
तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौं, रामेछाप सामुदायिक आँखा केन्द्र, सामुदायिक विकास समाज र तामाकोसी अस्पतालको सहयोगमा शुक्रवारबाट सुरु भएको आँखा शिविरमा १ सय १३ जनाले आँखाको शल्यक्रिया गरेको रामेछाप सामुदायिक आँखा केन्द्रका प्रमुख उमेश तामाङले बताउनु भयो । शिविरमा तिलगंगा आँखा प्रतिष्ठानका नेत्र रोग विशेषज्ञ डा। सुष्मा दुवालको नेतृत्वमा १५ भन्दा बढी स्वास्थ्यकर्मीको समूहले सहयोग गरेका थिए । लामो समयदेखि मोतिया बिन्दुको समस्या लिएर बसेका ग्रामीण समुदायका व्यक्तिहरूलाई लक्षित गरेर शिविर सञ्चालन गरिएको रामेछाप सामुदायिक आँखा केन्द्रका अध्यक्ष डा. सुमन कर्माचार्यले बताउनु भयो ।






प्रतिक्रिया राख्नुहोस्