टिमुर खेतीमा आकर्षण बढ्दो

स्याङ्जा – स्याङ्जाको पुतली बजार ९ कोल्मा गाउँका बासिन्दाहरू पछिल्लो समय व्यावसायिक रूपमा टिमुर खेतीतर्फ आकर्षित भएका छन् । जङ्गली जनावरले बालीनाली  नष्ट गर्न थालेपछि वैकल्पिक खेतीको रूपमा क्षति नहुने र अन्य खेतीको तुलनामा राम्रो व्यापार हुने भन्दै टिमुर खेतीमा स्थानीयहरूको आकर्षण बढेको हो ।

आयुर्वेदिक प्रणाली अनुसार दाँत दुखेको, पेटको विकार, ज्वरो, हैजा, हाड जोर्नी दुख्दा, लेक लागेको बिमारका लागि टिमुरको प्रयोग गरिन्छ । त्यति मात्र होइन गाउँ घरमा अझै पनि हात खुट्टा मर्किएमा टाउको दुखेमा र पिनास भएको बेला टिमुरको तेलले मसाज गरी निको गराइन्छ । मसला र औषधीको रूपमा समेत टिमुरको प्रयोग गरिने भएको यसको महत्त्व बढ्दै गएको हो । समुद्री सतहदेखि करिब १२ सय देखि २५ सय मिटर सम्मको उचाइमा यो खेती हुने गर्दछ । यसको महत्त्व र माग बढ्दै जान थालेपछि कोल्माका कृषकहरूले एक घर एक टिमुरको अभियान नै थालेको स्थानीय कृषक डिल कुमार भुजेल बताउनुहुन्छ ।

स्याङ्जाको उच्च पहाडी भेगमा रहेको कोल्मा, कोखे, काउले, लामडाडा, लगायतका गाउँमा  समेत टिमुर खेतीको प्रारम्भिक परीक्षण अभियान समेत सुरु गरिएको छ । कोल्माका बासिन्दाहरूले आम्दानीको मुख्य आधारको रूपमा टिमुर खेतीलाई मान्दै आएका छन् । पछिल्लो समय जमिन बाझो हुन थालेपछि कृषकहरूले एक घर एक टिमुर मात्र होइन पाखोवारिमा समेत टिमुर खेती गर्न थालेका छन् । एउटा बोटबाट करिब ३ देखि ४ किलो फल्ने टिमुर फल्ने गर्दछ । प्रति केजी २ हजार रुपैयाँमा विक्री गर्दै आएका कोल्माबासीले वार्षिक लाखौँ रुपैयाँ आम्दानी गर्दै आएका छन् । छोटो समयमै उत्पादन हुने, खेती गर्न सजिलो र बजारीकरणमा कुनै समस्या नभएको हुँदा यस खेतीमा आकर्षण बढेको हो ।

कोल्माका किसानले घरघरमै टिमुर फलाउने अभियान सुरु गरेर विश्व बजारमा राम्रो प्रभाव पार्ने कृषकहरू लहर चले सँगै यसको सम्बन्धित निकायले समेत चासो दिएर अन्तर्राष्ट्रिय बजारीकरण गर्न सके आर्थिक समृद्धिमा टेवा पुग्ने निश्चित छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.