रोल्पामा घट्दै कोदो खेती: थपिँदै खाद्य सुरक्षामा चुनौती

रोल्पा- “कोदो रोप्दा लाएको पिरती छुट्यो तोरी फुल्ने बेलामा”– जनजनको मनमा बसेको यो लोक भाकामा न केवल पिरतीको प्रसङ्ग छ, यो रोल्पा जस्ता पहाडी भूभागमा खेताला, बालीनाली र मौसमी जीवनशैलीको प्रतिबिम्ब पनि हो । कुनै समय थियो, रोल्पाका प्रायः गाउँघरमा वर्षा यामसँगै कोदो रोप्ने चटारो चल्दथ्यो, डाँडाकाँडा हरियालीले ढाकिन्थ्यो । तर अहिले त्यो परिदृश्य क्रमशः हराउँदै गएको छ । “पहिले पाखो बारीभरि कोदोको हरियाली देखिन्थ्यो, अब ती बारी बाझै छन्,” सुनछहरी गाउँपालिका–१ झङ्की गाउँकी ५६ वर्षीय रशु घर्ती विगत सम्झिन्छिन् । ‘कुनै समय गाउँको मुख्य बाली नै कोदो थियो,’ उनले भनिन– “तर अहिले गाउँका थोरै व्यक्तिले मात्रै लगाउने गर्छन् । “हाम्रो खेतबारीमा पहिले कोदो फुल्थ्यो, अहिले चामल खान सजिलो भयो भनेर कोदो खेती छोडियो,” रशु भन्छिन्, “नयाँ पुस्तालाई त कोदो कस्तो हुन्छ भनेर चाख्नकै लागि पनि अर्को गाउँबाट मगाउनु पर्ने अवस्था आउन थालेको छ ।”
गाउँसम्म सडक पुगेपछि बाहिरी वस्तुको सहज आपूर्ति हुन थालेको छ । बजारमै चामल लगायतका खाद्यान्न सजिलै पाइने भएपछि कोदो खेतीप्रति गाउँलेको आकर्षण घटेको हो । पहिले खेतबारीमा उब्जिने स्थानीय बालीले गाउँको खाद्यान्न आपूर्ति गरिरहेको थियो । तर आज ती अधिकांश बाली लोपोन्मुख अवस्थामा छन् ।
“अहिलेको अवस्था हेर्ने हो भने, उत्पादन नहुँदा बजारबाट चामल ल्याउन पनि नपाउने दिन आए भने गाउँमा भोकमरी नहोला भन्न सकिन्न,” रशु घर्ती चिन्ता व्यक्त गर्छिन् । गाउँले पुराना बाली छोडेपछि त्यसको बीउसमेत हराउँदै गएको छ । “हामीलाई अहिले कोदो लगाउन खोज्दा पनि असली बीउ पाउन गाह्रो छ,” रशु थप्छिन्,–“पहिले हामी आफैँ बीउ बनाउँथ्यौ, अहिले माग्नुपर्छ, त्यो पनि कहाँ पाउनु ।” “अब नातिनातिनालाई कोदो देखाउन पनि मोबाइलमा फोटो देखाउनु पर्ने दिन नआउला भन्न सकिन्न ।” उनले आशङ्का व्यक्त गरिन् ।
पछिल्लो अवस्थाले पहाडी जिल्लाहरूमा रैथाने बालीको जैविक विविधता र भविष्यमा सम्भावित सङ्कटलाई सङ्केत गर्दछ । गाउँका समस्या कोदो मात्रै होइन । लुङ्ग्री गाउँपालिका–७ हार्जङका बलबहादुर रोका मगरका अनुसार अहिले अधिकांश युवा वैदेशिक रोजगारीतिर लागेका छन् । “गाउँका खेत जोत्न मानिस छैनन्, जो छन् उनीहरू पनि सहर तिर बसाइँ सरेका छन् । त्यसले गर्दा अन्य खेतीको काम पनि गर्न गारो छ ।” उनले भने । गाउँ रित्तिँदै जाँदा खेतीपाती, रैथाने बाली मात्र हैन गाउँको रहनसहन र संस्कृति पनि बिस्तारै हराउँदै गएको उनको भनाइ छ ।
“कोदोको आटा पिँध्ने, माड बनाउने, रक्सी बनाउने संस्कृति हाम्रो थियो,” झङ्की गाउँकै ६७ वर्षकी अर्की वृद्धा जानु घर्ती भन्छिन्,–“अब त के छ र रु कोदो छैन, चुल्होमा चामल मकै मात्रै पाक्छ ।”
लुङ्ग्री गाउँपालिका–६ गुम्चालका ७० वर्षीय सन्तबहादुर बुढाथोकी २०२८ सालको भोकमरीमा कोदोकै कारण आफूहरू बचेको इतिहास सुनाउँछन् । ‘त्यो बेला भोकमरीले धेरै मान्छेले ज्यान गुमाउनु परेको थियो’ बुढाथोकीले विगत सम्झिँदै भने–‘हामीसँग प्रशस्त कोदो भकारीमा नभएको भए हामी पनि बाँच्न मुस्किल थियो ।’ अहिले पनि कोदो खेती गर्दै आएका बुढालाई गत वर्ष मात्रै कृषि ज्ञान केन्द्र रोल्पाले ३० केजी डल्ले र ३० केजी काब्रे जातको कोदोको बिउ सहयोग गरेको थियो । ‘आफूले मात्र नभई गाउँका अन्य किसानलाई पनि कोदो खेतीमा प्रोत्साहन गर्न बिउ माग गरेको छु’ बुढाथोकीले भने, –‘सोही अनुसार बिउ प्राप्त भएको छ र हामीले खेतीलाई पनि बढाएका छौ ।’ बुढाथोकीले गाउँका युवाहरूलाई पनि कोदो खेतीमा लाग्न प्रोत्साहन गर्दै आएको सोही ठाउँ बस्ने ३० वर्षीय युवा दिलबहादुर बुढाथोकीले बताए । ‘उहाँले कोदो खेतीलाई निरन्तरता दिनुपर्छ भन्नु भएको छ यसमा हामीले पनि साथ दिइरहेका छौँ ।’
रोल्पा जिल्लाको भौगोलिक बनावटले धान, गहुँ वा मकै भन्दा कोदो खेतीलाई धेरै अनुकूल मानिन्छ । यहाँको चट्टानी माटो, उब्जनी क्षेत्र र १५०० मिटर माथिको उचाइमा कोदो उत्पादन राम्रो हुने कृषि ज्ञान केन्द्र रोल्पाका वरिष्ठ कृषि प्राविधिक प्रेमबहादुर ओलीको भनाई छ । त्यसैले पनि यहाँका पुराना पुस्ता ‘कोदो’ लाई जीवनको आधार मानेर खेती गरेको पाइन्छ । “रैथाने बाली केवल परम्परा होइन, तिनले सङ्कटका समयमा टिकाउ समाधान दिन सक्छन् । तर अहिले तिनीहरूको संरक्षण र प्रवर्द्धन गर्नेतर्फ ध्यान दिन ढिला हुँदै छ ।” ओली बत्ताउँछन् ।
रोल्पामा कोदो खेती घट्दो अवस्थामा पुगेको छ । कृषि ज्ञान केन्द्र रोल्पाका अनुसार पछिल्ला १० वर्षमा कोदो खेती गरिने क्षेत्रफल करिब ५० प्रतिशतले घटेको छ । बिस २०७२ तिर जिल्लाभर झन्डै २५०० हेक्टरमा कोदो खेती हुन्थ्यो भने हाल त्यो क्षेत्र १२५० हेक्टरमा झरेको छ । आर्थिक वर्ष २०७९÷८० मा करिब १२५५ हेक्टरमा खेती भई करिब १५०० मेट्रिक टन उत्पादन भएको कोदो आर्थिक वर्ष २०८०÷८१ मा घटेर १२५१ हेक्टरमा मात्र खेती भएको थियो । उक्त वर्ष करिब १३०० मेट्रिक टन कोदो उत्पादन भएको केन्द्रको तथ्याङ्कमा उल्लेख छ । यस्तै आर्थिक वर्ष २०८१÷८२ मा १२५० हेक्टरमा लगाइएकोमा करिब १२५६ मेट्रिक टन उत्पादन भएको छ ।
गाउँमा युवाहरू बस्न नरुचाउने, कृषिमा नयाँ पुस्ताको चासो घट्दै जान थालेपछि यसको उत्पादनमा पनि कमी आएको बुढापाकाहरूको भनाई छ । गाउँमा कोदोको महत्त्व नबुझ्नु पनि अर्को समस्या बनेको छ । मेसिन र प्रविधिको अभावले कोदो खेती अझै परम्परागत विधिबाट गरिँदै आएको छ । आधुनिक यान्त्रिकीकरण नहुनुका कारण श्रम खर्चिलो र समय लाग्ने भएकाले किसानहरू कोदो खेतीबाट विमुख हुँदै गएका छन् । यस्तै पछिल्लो समय मौसम चक्र अनियमित हुन थालेपछि बीउ रोप्ने समय, अं कुराउने अवस्था र उत्पादन सबै प्रभावित हुने गरेको छ ।
रोल्पा जस्ता ग्रामीण भेगमा कोदो केवल खानाका लागि होइन, सांस्कृतिक दृष्टिकोणले पनि महत्त्वपूर्ण छ । वर्षौँदेखि परम्परागत जातीय भोजहरूमा कोदोको स्थान कहिल्यै घटेन । अझ कतिपय मगर बस्तीमा त कोदोको रक्सी (झाँडे रक्सी) पूजाआजा र देवताको चढाउने प्रसादमा अनिवार्य मानिन्छ । तर यस्ता संस्कार समेत बिस्तारै फेरिँदै छन्, बजारमा सजिलोसँग पाइने चामल र अन्नहरूले कोदोको स्थान ओगट्दै छ ।
यसको संरक्षणका लागि पछिल्लो समय प्रदेश सरकारले चासो दिन थालेको छ । कृषि ज्ञान केन्द्र रोल्पाले केही पालिकाहरूसँग सहकार्य गरी उच्च उब्जनी दिने जातका कोदोको बीउ वितरण र तालिम दिइरहेको छ । तर यो प्रयास अझै प्रभावकारी हुन सकेको छैन । सङ्घीय सरकारको कादो प्रवर्द्धन कार्यक्रम अन्तर्गत गत वर्ष लुङ्ग्री गाउँपालिकाको ४ ठाउँमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको लुङ्गी गाउँपालिकाकी कृषि प्राविधिक मन्दीरा खत्रीले बताइन । तर कार्यक्रम कार्यान्वयनमा ढिलाइ हुँदा यो कार्यक्रम प्रभावकारी हुन नसकेको उनको गुनासो छ ।
लुम्बिनी प्रदेशले कोदो लगायत पारम्परिक बालीलाई ‘अर्ग्यानिक ब्रान्डिङ’ गरी बजारसम्म लैजाने नीति लिएको छ । “एक गाउँ एक उत्पादन“ अवधारणाअन्तर्गत कोदो उत्पादन बढाउने प्रयास भए पनि बजारको सुनिश्चितता नभएकाले किसान आकर्षित भएका छैनन् ।
रोल्पाका केही पालिकाले ‘बाली विविधीकरण’ अन्तर्गत कोदो, फापर, जौ जस्ता बालीमा अनुदान दिने नीति लिएका छन् । उदाहरणका लागि, रुन्टिगढी गाउँपालिका र लुङग्री गाउँपालिका ले बीउ अनुदान र उत्पादनमा प्रोत्साहन कार्यक्रम थालेका छन् ।
यस्तै गत आर्थिक वर्षमा लुङ्ग्री गाउँपालिकामै प्रदेश सरकारको सहयोगमा ८५ जना किसानलाई ५०० हेक्टरमा पुग्ने गरी बिउ वितरण गरिएको थियो । जिल्लामा यस अघि स्थानीय जातको कोदो खेती हुँदै आएकोमा आर्थिक वर्ष २०८१÷०८२ मा नेपाल सरकारको रैथाने बाल प्रवर्द्धन कार्यक्रम अन्तर्गत १ लाख बजेटबाट पहाडी बाली अनुसन्धान कार्यक्रम बिच दोलखाबाट लिइएको ओख्ले, डल्ले र काब्र जातका १२० के.जी. कोदोको मूल बीउ १२ जना कृषकहरूलाई १२ हेक्टर क्षेत्रफलको लागि वितरण गरिएको ज्ञान केन्द्रले जनाएको छ ।
कोदोको प्रवर्द्धन र बजारीकरणका लागि पछिल्लो समय जिल्लाका सहरी क्षेत्रका रेस्टुरेन्ट, हेल्थ स्टोर र अर्ग्यानिक पसलहरूमा कोदोको चिउरा, ब्रेड, बिस्कुट जस्ता सामग्री बिक्री सुरु भएको छ । लिबाङ बजारमा रहेको गुरुङ सेल रोटी पसलमा दैनिक रूपमा सेल रोटीको स्वाद लिन सकिने सञ्चालक पवित्रा गुरुङले बताइन । ‘हामीले कोदोको प्रचारप्रसारका लागि पहिलो चरणमा खाजा नास्ताको रूपमा सेल रोटी उपलब्ध गराउदैं आएका छौँ’ गुरुङले भनिन– ‘कोदोको अभावमा कहिलेकाहीँ ग्राहक धेरै आउँदा माग अनुसार सेवा पुर्याउन सकिएको छैन ।’
कुनै समयमा कोदो जस्ता परम्परागत बालीहरू ग्रामीण क्षेत्रका लागि आत्मनिर्भरता र खाद्य सुरक्षा दुवैको आधार थिए । यी बालीहरू घरमै उत्पादन हुने भएकाले बजारको भर पर्नु पर्दैनथ्यो । तर अहिले आयातित चामल र मैदामाथिको निर्भरता बढेको छ । यदि ती वस्तुको आपूर्ति रोकियो वा महँगियो भने ग्रामीण क्षेत्र भोकमरीको चपेटामा पर्ने हो कि भन्ने चिन्ता बढेको छ । सरकारले कोदोको उत्पादनलाई प्रोत्साहन गरी बजारीकरणको ग्यारेन्टी गरेमा किसानहरू यसतर्फ आकर्षित हुने किसानहरूको भनाई छ । ‘देशमा अवसर छैन भन्दै बिदेसिने युवालाई यही रोक्ने तथा किसानलाई बजारको ग्यारेन्टी दिन सरकारले सकेको छैन ।’ रुन्टिगढी गाउँपालिका–७ का किसान महेन्द्र खड्काले भने, –‘बजारको ग्यारेन्टी नहुँदासम्म युवाहरूले कृषिमा भविष्य देख्दैनन्, र वैदेशिक रोजगारी नै सुरक्षित ठान्छन् ।’
अर्कोतर्फ कोदोको उत्पादन र उपभोग बढाउने गरी सचेतना अभियान जरुरी रहेको पोषणको क्षेत्रमा काम गर्ने विज्ञहरूको भनाई छ । पोषणविद् डाक्टर अरुणा उप्रेतीका अनुसार कोदोमा उच्च मात्रामा फाइबर, आइरन, क्याल्सियम, र एन्टीअक्सिडेन्ट हुन्छन् । त्यसैले कोदो सस्तो र स्वास्थ्यकर अन्न मानिन्छ । ‘यसको खेती घट्दा ग्रामीण बासिन्दा पौष्टिकता गुमेका कम गुणस्तरीय चामल र मैदाको सेवनतिर लागेका छन्, जसले दीर्घकालीन रूपमा कुपोषण र गैर–संचारी रोगहरू (जस्तै डायबिटिज, उच्च रक्तचाप) बढाउने खतरा बोकेको छ, यदि हामीले यसको उत्पादन र उपभोगलाई पुनः बढाउन सकेमा ती रोगहरूलाई पनि कम गर्न मद्दत पुग्छ ।’ डा. उप्रेतीको भनाई छ ।
कोदो जस्तो अल्प–सिचाइमै उत्पादन हुने बाली हराउँदै जानु र अधिक पानी चाहिने बालीहरू ९जस्तै धान० विस्तार हुनु, जलवायु परिवर्तनको सन्दर्भमा असुरक्षित छनोट हो । कोदोको तुलनामा धान बढी जोखिमयुक्त छ, अलिकति पनि पानी नपरेर बाली सखाप हुन सक्छ । यसले खेती असफल भएमा ठुलो खाद्य सङ्कट निम्त्याउँछ ।
कोदो खेतीको कम हुँदै जानु भनेको कृषिजन्य जैविक विविधताको ह्रास हो । विशिष्ट जातका स्थानीय बीउहरू हराउने क्रमले दीर्घकालीन खाद्य प्रणालीलाई कमजोर बनाउँछ । भविष्यमा यी बीउहरूसँगै हामी रोग प्रतिरोधी र जलवायु अनुकूल जात समेत गुमाउने जोखिममा छौँ ।
कोदो खेतीको पतन केवल एक बालीको ह्रास होइन—यो ग्रामीण खाद्य प्रणालीको आधार हल्लिने सङ्केत हो । यदि तुरुन्त सुधारात्मक नीति, स्थानीय सहकार्य र प्राविधिक सहारा दिइएन भने रोल्पामा खाद्य असुरक्षा गहिरिँदै जाने निश्चित छ । त्यसैले परम्परागत बालीहरूको संरक्षण गर्नु अहिलेको आवश्यकता मात्र होइन, दीर्घकालीन सुरक्षा रणनीति पनि हो ।






प्रतिक्रिया राख्नुहोस्