ज्येष्ठ नागरिकहरू सम्मानित , वृद्धाश्रमलाई आर्थिक सहयोग

नुवाकोट- नुवाकोटको प्रसिद्ध देवघाटमा ज्येष्ठ नागरिकहरू सम्मानित भएका छन् । उक्त आश्रमलाई एकै पटक आर्थिक सहयोगसमेत प्राप्त भएको छ ।
विदुर नगरपालिका ५ देवघाटस्थित देबीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानले पाँच जना वृद्ध वृद्धालाई सम्मानित गरेको छ । खोज्छन् सबै सुख भनी सुख त्यो कहाँ छ, आफू मेटाइ अरूलाई दिनु जहाँ छ भन्ने मूल नारासहित प्रतिष्ठानले ३५ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा पाँच जना वृद्ध वृद्धालाई विशेष कार्यक्रमसहित सम्मानित गरेको हो ।
सम्मानित हुनेहरूमा तारकेश्वर गाउँपालिका ५ गोसर््याङ स्थायी घर भई हाल वट्टारमा बसोबास गर्दै आएका ९२ वर्षीय बाबुराम शर्मा अधिकारी र उनकी धर्मपत्नी ९१ बर्सिया कृष्णकुमारी अधिकारी, ९१ वर्षीय केदारनाथ पराजुली, ८८ बर्सिया भद्र माया न्यौपाने र ८८ वर्षीय पदमप्रसाद न्यौपाने रहेका छन् । उनीहरूलाई प्रतिष्ठानका तर्फबाट प्रमुख जिल्ला अधिकारी शशि धर घिमिरे, प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद नेपाललगायतले कार्यक्रमकावीच सम्मानित गर्नुभयो ।
ज्येष्ठ नागरिकहरू समाजका उदाहरणीय व्यक्तित्व भएका कारण उनीहरूको योगदान तथा स्मरण वाट पनि समाजको परिवर्तनका लागि योगदान पुगिरहेको प्रजिअ घिमिरेले बताउनुभयो। समाजमा उनीहरूको सामाजिक सेवा र योगदानको कदर गर्दै दोसल्ला ओढाएर सम्मानित गरिएको प्रतिष्ठानका अध्यक्ष नेपालले जानकारी दिनुभयो ।
यसैबिच, विदुर नपा १० गेर्खुटारका दुर्गादेवी पाण्डेले आफ्ना पति स्व. रामबहादुर पाण्डे(लीलाबहादुर क्षेत्री) को स्मृतिमा प्रतिष्ठानलाई आर्थिक सहयोग गरेकी छन् । वृद्धा पाण्डेले उक्त प्रतिष्ठानमा आश्रित ४० जना वृद्ध बा आमाहरूलाई पितृ भोजनका साथै पितृ स्मरण कोषमा वार्षिक श्राद्धसहित गर्ने उद्देश्यले कुल एक लाख ७५ हजार रुपैयाँ प्रदान गरेको प्रतिष्ठानले जनाएको छ ।
वृद्धा पाण्डेले उक्त रकम प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद नेपाललाई एकमुष्ट हस्तान्तरण गरिन् । उहाँले सामाजिक सेवा भावले आफूले सहयोग गरेको बत्ताउनु भयो।
उक्त रकमको ब्याजबाट सो प्रतिष्ठानले वृद्धवृद्धाहरुको लागि भोजनका साथै विविध धार्मिक गतिविधि गर्ने जनाएको छ । यस्तै, नुवाकोटकै बेलकटगढी नपा ८ स्थायी घर भएका पेशल नेपालले प्रतिष्ठानको अक्षयकोष वृद्धिको लागि र प्रतिष्ठानमा आश्रित वृद्ध बुबा आमाहरूलाई संरक्षण गर्न एकमुष्ट एक लाख ३९ हजार रुपैयाँ प्रदान गरेका छन् ।
उनले आफ्नी ममतामयी माता पम्फा शर्मा नेपालमार्फत प्रतिष्ठानका कोषाध्यक्ष बिन्दा अर्याललाई उक्त रकम हस्तान्तरण गरे ।
कार्यक्रममा उक्त प्रतिष्ठान अन्तर्गतको ज्येष्ठ नागरिक मानव सेवा आश्रम सञ्चालन कार्य समितिका अध्यक्ष विष्णुप्रसाद नेपाललगायत कार्य समितिका पदाधिकारी, सदस्यहरू, सल्लाहकार, आश्रममा रहेका वृद्ध वृद्धा तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।






प्रतिक्रिया राख्नुहोस्