धानको बालामा रोगको प्रकोप,उत्पादनमा कमी आउने प्रक्षेपण

धादिङ-  यस वर्ष धादिङका किसानहरूले सोचे जस्तो धान बालीबाट लाभ लिन नसकेको बताएका छन् ।

धानको बाला र बोट हेर्दा निकै राम्रो देखिए पनि पछिल्लो समय धानको बाला मानै रोगको प्रकोप देखा परे पछि सोचे जस्तो उत्पादन लिन नसक्ने बताएका हुन् ।

गत सालको तुलनामा बोट देख्दा निकै राम्रो थियो तर अहिले आएर धानको बालामा पैँतिस प्रतिशत जति त भुस मात्रै भएको बताउँदै दाना नै नलागेको गुनासो किसानहरूको छ ।

धान बालीमा पर्याप्त मल र पानी पुगेको तर के भएको र कुन रोग हो भन्ने पहिचान गर्न नसक्दा धान बाली बिग्रिएको भनाई स्थानीय कृषकको छ ।

जिल्लाका अधिकांश धानमा अहिले बालामा सेतो भाग देखा पर्ने र धान बिस्तारै कालो हुँदै बिग्रने समस्या देखा परेको छ । यसले धान उत्पादनमा समेत केही कमी आउने देखिएको छ । जसले गर्दा किसानहरूले बोट देखे अनुसारको उत्पादन लिन नसक्ने बताएका हुन् ।

विशेष गरी वर्ण शङ्कर जातका धान रोपेका किसानहरूमा यो समस्या देखिएको छ। त्यस्ता धान रोपेको खेतको ओर पर रोपिएका स्थानीय जातका धानहरूमा पनि यस्तै समस्या आएको किसानहरूको भनाई छ ।

अहिले धान भित्र्याउन किसानहरूले सुरु गरी सकेको छन् । धान खेतमा केही पछि लगाएका धान बाली पाक्न लागेको अवस्थामा रहेको छ भने विकासे प्रजातिका धेरै जसो जातका धानहरू पाकेर काट्न किसानहरूले सुरु गरेका छन् ।

धादिङमा करिब ११ हजार हेक्टर जमिनमा बर्खे धान खेती हुने गरेको छ । गत वर्ष करिब ३४ हजार मेट्रिक टन धान उत्पादन भएको कृषि विकास कार्यालय धादिङको तथ्याङ्कमा उल्लेख  छ ।

धादिङ जिल्लामा यस वर्ष धान रोगको प्रकोप देखिएका कारण उत्पादनमा कमी आउन सक्ने आशङ्का किसानहरूले गरेका छन् । जिल्लामा सावित्री, एकहत्तर,जिरा मसिनो,मन सुली,रानीजस्ता विकासे प्रजातिको धान खेती हुँदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.