सिरहा जिल्लामा एक सातामै ४० भन्दा बढी झगडा, समाजमा अस्थिरता बढ्दै

सिरहा — सिरहा जिल्लामा पछिल्लो एक सातादेखि दाजुभाइ, छिमेकी, साथीभाइ र आफन्तबिच झगडा तथा कुटपिटका घटनाहरू तीव्र रूपमा बढेका छन्। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार कार्तिक १ गतेदेखि ७ गतेसम्मको अवधिमा मात्रै ४० भन्दा बढी झगडा तथा मारपिटसम्बन्धी मुद्दा दर्ता भएका छन्।
सामान्य विषयमा समेत वादविवाद तीव्र बन्दै झगडामा रूपान्तरण हुने क्रमले स्थानीय समाजमा अस्थिरता बढेको देखिएको छ। निरन्तर बढिरहेका यस्ता घटनाले सामाजिक सम्बन्ध कमजोर पार्दै लैजाने चिन्ता स्थानीयवासीले व्यक्त गरेका छन्।
यसबिचमा विवाद समाधानका लागि कानुनअनुसार स्थापना गरिएका न्यायिक समिति र वडा मेलमिलाप केन्द्रहरूले प्रभावकारी रूपमा काम गर्न नसकेको आरोप पनि लगाइएको छ। स्थानीय अगुवा, बुद्धिजीवी तथा समाजसेवीहरूले शान्ति, सहिष्णुता र सामाजिक अनुशासन कायम गर्न सबै पक्षले मिलेर पहल गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
स्रोतका अनुसार, अधिकांश झगडाहरू आपसी मनमुटाब, सानो विवाद र मदिरा सेवनपछिका घटनासँग सम्बन्धित रहेका छन्। प्रहरीका अनुसार आवश्यक कानुनी कारबाहीका साथै जनचेतनामूलक कार्यक्रममार्फत यस्ता घटनामा कमी ल्याउन पहल सुरु गरिएको छ।






प्रतिक्रिया राख्नुहोस्