‘जेनजी’ प्रदर्शनका घाइतेलाई मनोपरामर्श सेवा दिने निर्णय

काठमाडौँ- नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमले पदभार ग्रहण गर्नुभएको छ । पदभार ग्रहण गर्दै उहाँले ‘जेनजी’ प्रदर्शनका क्रममा घाइते भएकाहरूलाई मनोपरामर्श सेवा प्रदान गर्ने पहिलो निर्णय गरेको बताउनुभएको छ ।

सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै मन्त्री डा शर्माले खरिद प्रक्रियालाई पूर्ण रूपमा पारदर्शी बनाउने र भ्रष्टाचारको अन्त्य गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, “जेनजी प्रदर्शन भ्रष्टाचारको अन्त्य र सुशासनका लागि भएको थियो । त्यसैले कतैबाट पनि भ्रष्टाचार भएको सुन्न नपरोस् ।”

मन्त्री डा शर्माले देशको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै मानसिक स्वास्थ्यको विषयलाई प्राथमिकतामा राखेको बताउनुभयो ।

उहाँले जेनजी आन्दोलनमा सहिद भएका परिवारका लागि निःशुल्क स्वास्थ्य बिमाको व्यवस्था गर्नका लागि अर्थ मन्त्रालयसँग समन्वय गरेर बजेटको व्यवस्था र अन्य प्रक्रिया अगाडि बढाइने बताउनुभयो । मन्त्री डा शर्माले वर्तमान सरकार नागरिक सरकार भएकाले यसको मूल्याङ्कन कामबाट मात्र हुने धारणा राख्नुभयो ।

उहाँले पारिश्रमिकको विषयलाई लिएर आन्दोलनरत नर्सका समस्या समाधानका लागि पहल थाल्ने बताउनुभयो ।

स्वास्थ्य सचिवको रूपमा काम गरिसक्नुभएका नवनियक्त स्वास्थ्यमन्त्री डा शर्मा प्रसूति तथा स्त्री रोग विशेषज्ञका साथै जनस्वास्थ्यविद् पनि हुनुहुन्छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.