परासीको झरही खोलामा तटबन्ध निर्माण सुरु हुँदै

पश्चिम नवलपरासी- पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित झरही खोला किनारमा तटबन्ध निर्माण कार्य सुरु गर्न जोखिम क्षेत्र पहिचान गरिएको छ ।

झरही पुल देखी सन्डा सम्म खोला किनारमा बाढी नियन्त्रण र करिडोर समेत निर्माण गर्ने गरि नगरपालिकाले काम गर्ने योजना बनाएको छ । संघीय र प्रदेश सरकार सहितको लगानीमा झन्डै दुई करोड बजेट नदी नियन्त्रणका लागि प्राप्त भएकाले तत्कालै काम थाल्न नगर प्रमुख धनपत यादवको नेतृत्वमा, वडा अध्यक्ष निरज रौनियारसहित प्राविधिक टोली र स्थानीयबासीले खोलाको जोखिम क्षेत्र पहिचान गरेका हुन् ।

बढी क्षति पुग्न सक्ने र खोलाले कटान गरेको क्षेत्रबाट काम थाल्ने गरी ठेक्का आह्वान गरिने भएको नगर प्रमुख यादवले बताउनुभयो ।

‘हामीले खोला सफाइ गरेर अस्थाई बाँध बाधेका थियौँ, अब बलियो संरचना निर्माण गर्नुपर्ने छ त्यसैले तटबन्ध लगाएर कोरिडोर निर्माण गरी सौन्र्दयकरण गर्ने योजना छ, नगर प्रमुख यादवले भन्नुभयो ।’ ‘ठुलो बजेट आवश्यक पर्ने भएकाले स्थानीय तहको प्रयासमा काम भइरहेको थियो, अहिले निरन्तरको प्रयास पछि बजेट विनियोजन भएको छ, अब तटबन्ध निर्माण सुरु हुन्छ’, यादवले भन्नुभयो ।

स्थानीयबासीले नगर प्रमुख सँग खोलाले वर्षायाममा बढी क्षति गर्न सक्ने क्षेत्रलाई प्राथमिकता दिन आग्रह गरेका थिए । रामग्राम दुईका स्थानीय अमिरुल्लाह मियाँले तटबन्ध निर्माण पछि बल्ल बाढीको जोखिम कम हुने विश्वास व्यक्त गर्नुभयो ।

नगरपालिकाले बाढी नियन्त्रणका लागी हरेक वर्ष खोला सफाइ र अस्थाई तटबन्ध बनाउदै आएको थियो । चार वर्ष अगाडिको वर्षायाममा झरही खोलामा आएको बाढी बस्तीमा पस्दा पुरै परासी बजार जलमग्न भएको थियो ।

सो घटनापछि परासीबासीले झरही खोला नियन्त्रणको दरिलो संरचना निर्माण गर्न माग गर्दे आएका छन् । नगरपालिकाले आन्तरिक स्रोतले खोला सफाइ र अस्थाई तटबन्ध बनाएर बाढी नियन्त्रणको काम गर्दे आएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.