अस्पताल सञ्चालनका लागि महायज्ञ
राधिका दासीद्वारा भागवत वाचन

नुवाकोट- त्रिदेशीय मार्ग अन्तर्गत नुवाकोटको महादेव फाँटमा सामुदायिक अस्पताल स्थापना र सञ्चालनार्थ श्रीमद्भागवत सप्ताह पूर्ण ज्ञान महायज्ञ सञ्चालन भएको छ । महायज्ञबाट सङ्कलित नगद तथा जिन्सीबाट अस्पताल निर्माणमा खर्च गरिने आयोजकले जनाएको छ ।
वेलकोटगढी नगरपालिका ७ जरुवावगरमा सात दिनसम्म सञ्चालन हुने उक्त महायज्ञको बुधवार मेयर जगतवहादुर गुरुङले उद्घाटन गर्नु भयो । महायज्ञमा चर्चित भागवत वाचक राधिका दासीद्वारा श्रीमद् भागवत कथा प्रवचन भइरहेको छ ।
महायज्ञको उद्घाटन गर्दै मेयर गुरुङले त्रिदेशीय मार्ग अन्तर्गत वीरगन्ज–गल्छी–देवी घाट–रसुवागढी सडक मार्गको बिचमा रहेको महादेवफांटमा एउटा अस्पताल आवश्यक परेको अवस्थामा आयोजित महायज्ञबाट सङ्कलित रकमबाट अस्पताल सञ्चालन गरिने वताउनु भयो । उहाँले अस्पताल सञ्चालनका लागि नपा कार्यालयले आवश्यक सहयोग गर्नेसमेत प्रतिबद्धता जनाउनुभयो ।
महायज्ञ यहि कार्तिक २५ गतेसम्म सञ्चालन हुने आयोजक भीमेश्वर सामुदायिक संस्थाका अध्यक्ष दामोदर नेपालले जानकारी दिनुभयो । “स्वास्थ्यमा दान महान्” भन्ने उद्देश्यसहित आयोजित महायज्ञको पहिलो दिन वृहत् कलश यात्रासहित महायज्ञ सुरु गरिएको छ ।
चर्चित कथा वाचक राधिका दासीले सात दिनसम्म श्रीमद्भागवत कथा वाचन गर्नुका साथै विभिन्न झाँकी तथा धार्मिक प्रदर्शन हुने आयोजकले जनाएको छ । महायज्ञ सफल बनाएर अस्पताल सञ्चालन गर्ने मूल उद्देश्य रहेका कारण बेलकोटगढी नपाले आयोजक तथा विभिन्न सामाजिक सङ्घसंस्था सहकार्य गरेको उपमेयर शिवप्रसाद दाहालले बताउनुभयो ।
महायज्ञलाई सफल वनाएर महादेवफांटमा एउटा सामुदायिक अस्पताल सञ्चालन गरिने वडाध्यक्ष भुवनेश्वर नेपालको भनाई छ । महायज्ञ सफल बनाउन आयोजकसँग न्यु भिजन यूथ क्लब तथा विभिन्न संघसंस्थाहरुको सहकार्य रहेको छ ।
महायज्ञ उद्घाटनको दिन बाजागाजासहित कलश यात्रा, बजार परिक्रमा, झाँकी प्रदर्शन गरिएको थियो । महादेव फाँटमा अस्पताल निर्माणका लागि आयोजित महायज्ञलाई सफल बनाउन आयोजकले सबै सरोकारवाला निकायसँग अनुरोधसमेत गरेको छ ।
साथै यज्ञमा दान गरेर आफ्ना पितृ उद्धारका लागि योगदान दिन पनि अपिल गरिएको छ । उक्त स्थानमा अस्पताल निर्माण गरिएसंगै नुवाकोट र धादिङका पूर्वी भेगका नागरिकले समेत सेवा पाउन सहज हुनेछ ।
सो स्थानमा त्रिदेशीय सडक मार्ग रहेकाले धेरै दुर्घटना हुँदै आएको र उक्त क्षेत्रमा अस्पताल नहुँदा धेरैले ज्यान गुमाउन परेको दुःखद घटनाका कारण आफूहरूले अस्पताल निर्माणको योजना अघि सारेको अध्यक्ष नेपालले बताउनुभयो । उहाँले महायज्ञबाट सङ्कलित रकमको पारदर्शी हिसाबकिताब हुने भएकाले ढुक्कसँग दान गर्नका लागि पनि आग्रह गरेका छन् ।






प्रतिक्रिया राख्नुहोस्