राजमार्गका खाल्टा पुर्दै स्याङ्जा प्रहरी र ट्राफिक प्रहरी

स्याङ्जा – स्याङ्जाको जिल्ला भएर सञ्चालनमा रहेको सिद्धार्थ राजमार्गमा हालै जिल्ला प्रहरी कार्यालय स्याङ्जा र जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले संयुक्त रूपमा “खाल्टा–खुल्टि पुर्ने अभियान सञ्चालन गरेको छ । राम्दिदेखी फेदी खोलाको कुबिण्डेसम्मको ७९ किलोमिटर राजमार्गमा परेका खाल्टा मर्मत गर्दा सडक प्रयोगकर्ताले केही सहजता अनुभव गर्ने भन्दै प्रहरीले यो अभियान चलाएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका एस पी दधिराम न्यौपानेले बताउनुभयो ।
जिल्लामा दुर्घटनाको प्रमुख कारणमध्ये सडकमा परेको खाल्टा खुल्टि पनि एक हो। वर्षौँदेखि मर्मतको अभाव, भारी सवारीसाधनको चाप र प्राकृतिक कारणले गर्दा सडकमा खाल्टा–खुल्टि बन्नु सामान्यजस्तै भएको छ। यस्तो अवस्थामा सुरक्षाको जिम्मेवारी बोकेको प्रहरी संस्थाले आफैँ अग्रसर भई सडक मर्मतको काम चलाएको हो । यसले प्रहरीलाई केवल कानुन कार्यान्वयनकर्ता होइन, समुदायसँग सहकार्य गरेर समस्या समाधान गर्ने साझेदारका रूपमा प्रस्तुत गरेको छ।
तर, यस्तो पहल दीर्घकालीन समाधान होइन। अस्थायी मर्मतले केही समयका लागि मात्र राहत दिन सक्छ। दिगो सुधारका लागि सडक विभाग, स्थानीय तह र प्रदेश सरकारबिच समन्वय आवश्यक छ। स्थायी पुनर्निर्माण, गुणस्तरीय मापदण्ड र नियमित मर्मत प्रणाली नअपनाएसम्म राजमार्गको समस्या यथावत् रहनेछ।






प्रतिक्रिया राख्नुहोस्