रामेछापमा मतदाता नामावलीमा नाम लेखाउने सङ्ख्यामा वृद्धि

रामेछाप –  निर्वाचनको मिति नजिकिँदै गर्दा  निर्वाचन कार्यालय रामेछापमा पनि मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराउन भिड लाग्ने गरेको छ ।

सरकारले  फागुन २१ गते  निर्वाचन गर्ने मिति घोषणा गरेसँगै  मतदाता नामावलीमा आ आफ्नो नाम दर्ता गर्न आउनेहरुको सङ्ख्या बढ्दै गएको हो ।

बिषेशगरी दसैँ, तिहार र छठ  जस्ता चाडहरू सकिएसँगै जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामावलीमा नाम सङ्कलन गर्न आउनेको भिड बढेको जिल्ला निर्वाचन कार्यालय रामेछापकी सूचना अधिकारी मेनुका कुमारी धमलाले बताउनुभयो ।
नाम दर्तामा अहिले जेन्जी उमेर समूहका ब्यक्तिहरुको बढी उपस्थिति रहेको छ । आफूले नागरिकता बनाउने बित्तिकै  राम्रो खालको नेता चुन्नका लागि मतदाता नामावलीमा नाम दर्ता गराएको  लिखु तामाकोसी गाउँपालिका वडा नं ७ तिल्पुङ्ग का स्थानीय सुदिप आले मगरले बताउनु भयो ।

जेन्जी आन्दोलनको मर्म र भावना बुझ्ने खालको नेता छान्नका लागि आफूले मतदाता नामावलीमा नाम दर्ता गराएको मतदाता नामावलीमा नाम सङ्कलन गर्न जिल्ला निर्वाचन कार्यालय रामेछाप आइपुगेका  गोकुलगंगा गाउँपालिका वडा नं ५  नामाडिका प्रन्जल खड्काले बताउनुभयो ।  निर्वाचनको मिति घोषणा भए पछि निर्वाचन अयोगले जिल्ला निर्वाचन कार्यालयहरूलाई यही असोज ९ गतेदेखि कार्तिक मसान्त सम्म मतदाता नामावलीमा नाम दर्ता गर्न निर्देशन दिएको छ ।

बिहान ८ बजे देखि साँझ ६ बजे सम्म सङ्कलन हुने मतदाता नामावली जुनसुकै जिल्लाका नागरिकले जुनसुकै जिल्लाका जिल्ला निर्वाचन कार्यालय एवं तोकिएका ठाँउहरुबाट पनि दर्ता गराउन सक्ने प्रावधान मिलाएको छ । दैनिक रूपमा ४० देखि ५० जना व्यक्तिहरू मतदाता नामावलीमा नाम सङ्कलन गर्न आउने गरेका जिल्ला निर्वाचन कार्यालय रामेछापका प्रमुख नारायण लामिछानेले बताउनुभयो ।   ।
जिल्लामा यस अगाडि  १ लाख ८१ हजार ६ सय १४ जना मतदाता सङ्ख्या रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.