कल्लेरीका स्थानीयको घरघरमा धारा
धादिङ- पिउने पानीकै लागि त्रिशुली नदी धाउनुपर्ने बाध्यतामा रहेका कल्लेरीस्थित बेलिनटारका स्थानीयहरु अब भने समस्याबाट मुक्त भएका छन् ।
सरकारले एक घर एक धाराको अवधारण ल्याएपछि गाँउमा भएका सबैको घर घरमा नै स्वच्छ पिउने पानीको ब्यवस्था भएको छ ।
जस्का कारण त्यहाँका स्थानीयहरु अहिले पिउने पानीको समस्याबाट मुक्त भएका छन ।
अब पानीको लागि निकै टाढा टाढा खोला र खोल्सी धाउनुपर्ने बाध्यताको पनि अन्त्य भएको भन्दै स्थानीयहरु खुसी भएका छन् ।
धारा घरमा नै ब्यवस्था भएपछि खेर गएको पानी करेशाबारीमा लगाउन सजिलो भएको स्थानीयहरु बताउँछन ।
स्वास्थ्य र सरसफाइका लागि त पक्के फाइदा पुग्ने नै भयो ।
राजमार्गबाट निकै नजिक देखिने अत्यन्त सुगम जस्तो ठाँउ भएको भएपनि पानीका कारण निकै दुख भएकोले गर्दा त्यहाँका स्थानीयहरुले निकै समस्या भोग्दै आएका थिए ।
एक गाग्री पानी लिन कि त त्रिशुली नदी कि भने नजिकैको खोल्सा खोल्सीमा जमेको फोहर पानी घण्टौं लगाएर ल्याउनुपर्थ्यो ।
अब पानी लिन जाने समयमा अन्य आयमुलक काम गर्न सकिने पनि स्थानीयहरुको भनाइ छ ।
गल्छी गाँउपालिकामा पर्ने कल्लेरीका स्थानीयहरुको घर घरमा स्वच्छ पिउने पानीको धारा ल्याउनका लागि स्थानीय तहको दश लाख र गाँउलेहरुको श्रमदानसँगै गैर सरकारी संस्थाहरुले एक करोड त्रिचालिस लाख खर्च भएको छ ।
दुई किलोमिटर टाढाको मुलबाट गाँउभरि प्रत्येक घरमा धारोका लागि पाँच ओटा ट्याङ्की निर्माण गरी एक सय छपन्न घरहरुमा चौविसै घण्टा पानीको ब्यवस्था गरिएको छ ।।
प्रतिक्रिया राख्नुहोस्