तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको प्रमुख कार्यभार : गृहमन्त्री अर्याल

काठमाडौँ-  गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारको आगामी दिनको महत्त्वपूर्ण कार्यभार भनेकै तोकिएकै मितिमा निर्वाचनलाई शान्तिपूर्ण ढङ्गबाट सम्पन्न गर्नु रहेको बताउनुभएको छ ।

बिहीबार मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०८२/८३ को प्रथम चौमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री अर्यालले उक्त कुरा बताउनुभएको हो।

आगामी निर्वाचनलाई निर्धारित मितिमै सम्पन्न गराउने गरी मन्त्रालयका सबै निकायका कर्मचारी सो अनुरुपको तयारी र प्रतिबद्धताका साथ कार्य जिम्मेवारी निर्धारित गरी परिचालित हुनसमेत आदेश गर्नुभयो।

जेनजी आन्दोलनको भावना र मर्म अनुरुप सेवा प्रदायक निकायले आफ्ना काम कारवाहीलाई छिटो छरितो बनाउने र कार्य प्रक्रियालाई सरलीकृत गर्ने र आफूले प्रवाह गर्ने सबै प्रकारका सेवालाई सम्भव भएसम्म विद्युतीय माध्यमबाट गर्ने व्यवस्था मिलाउने र अभिलेख व्यवस्थापनलाई चुस्त दुरुस्त राख्न मन्त्री अर्यालले बैठकमा निर्देशन दिनुभयो।

‘सरकारी काम कारवाहीले गर्दा सेवाग्राहीलाई अनावश्यक झनझट व्यहोर्नुपर्ने अवस्थाको अन्त्य गर्ने गरी कार्य गर्नसमेत सबै माताहतका निकाय तथा अधिकारीहरुलाई निर्देश गर्दछु’, मन्त्री अर्यालले भन्नुभयो।

मन्त्री अर्यालले आगमी निर्वाचनको वातावरण बनाउन र भौतिक श्रोतसाधन लागि आवश्यक पर्ने बजेटका कार्यक्रम अर्थ मन्त्रालयबाट यस मन्त्रालयलाई सहजीकरण भएकोमासमेत मन्त्री अर्यालले अर्थ मन्त्रालयलाई  धन्यवाद दिनुभयो।

समीक्षा क्रममा प्रधानमन्त्री कार्यालय, योजना आयोग, अर्थ र संघीय मामिला मन्त्रालयले दिनुभएका सुझावलाई मन्त्रालय मनन गरेर कार्यन्वयनमा लैजाने कुरा पनि मन्त्री अर्यालले राख्नुभयो।

राजस्व चुहावट नियन्त्रणमा लिएको प्रयास अपर्याप्त भएको भन्दै, मन्त्री अर्यालले त्यसतर्फ विशेष ध्यान दिन र आगामी चौमासिक प्रगति समीक्षामा देखिने गरेर काम गर्न समेत निर्देश गर्नुभयो।

सीमापार अपराध न्यूनीकरण, लागु औषधको दुरुपयोग र ओसारपोसारविरुद्दको कारवाही र सडक दुर्घटना न्यूनीकरणका लागि वर्तमान कार्यशैलीमा आश्यकता अनुसार पुनारावलोकन गर्न र जनताले अनुभूत गर्ने गरी काम गर्न पनि मन्त्री अर्यालले सम्बद्ध निकायलाई आदेश दिनुभयो।

सबै निकायहरुको पूर्वानिर्धारित आन्तरिक वार्षिक कार्य योजना र माइलस्टोन कार्यान्वयनलाई तीव्रता दिन र गरिएका कार्यको नियमित आन्तरिक समीक्षासमेत गर्न उहाँले निर्देशन गर्नुभयो।

कार्यक्रममा गृह सचिव रामेश्वर दंगालले मन्त्रालय यस अन्तर्गतका सबै निकायले सुशासन र पारदर्शीतालाई मूल केन्द्र बिन्दु बनाइ आफ्नो कार्य जिम्मवारी निर्वाह गर्नु आदेश गर्नुभयो।  सचिव दंगालले सरकारको वार्षिक नीति तथा कार्यक्रम अन्तर्गत र मन्त्रालयले निर्धारण गरेका कार्यक्रमहरुलाई प्राथमिकतामा राखेर काम गर्नसमेत निर्देशन दिनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.