तीन मुखे चुल्हो : आगो मात्रै होइन, मधेसको पहिचान
मधेसका गाउँघरमा बिहानको पहिलो धुवाँ तीन मुखे चुल्हामै उठ्छ

सिराहा – माटोले बनेको यो साधारण चुल्हा बाहिरबाट हेर्दा सामान्य लागे पनि, यसको भित्री अर्थ भने निकै गहिरो छ— एक चुल्हा, तीन मुख, तीन भाँडा; तर भावना एउटै—परिवार र समुदायलाई एउटै आगोले जोडिराख्ने। आमाले भकाभक बलिरहेको आगो सम्हाल्दै भन्छिन्, “एउटा चुल्हामा तीन वटा भाँडा बसालिन्छ, परिवार त एउटै हो नि! यही भएर हाम्रो गाउँमा कोही भोकै बस्दैन।” पहिले–पहिले खेतीपातीको मेहनतले भरिएको जीवनमा समय र श्रम दुवै बचत गर्न यही चुल्हा बनाइन्थ्यो।
बिहानदेखि बेलुकीसम्म खेत, बारी र गोठले व्यस्त परिवारका लागि एउटै आगोमा तीन थरी खाना पाक्नु– धान उस्ने, दाल उमाल्ने, तरकारी भुट्ने— त्यही कुशलता र सामूहिकताले तीन मुखे चुल्होलाई मधेसको जीवनशैलीको अविभाज्य चिनारी बनायो।
आज आधुनिक ग्यास चुल्हाले धेरै कुरा बदलिदिए पनि, मधेसका धेरै घरहरूमा तीन मुखे चुल्हा अझै पनि बाँकी छ— परम्परा जोगाइराख्ने एउटा मौन साक्षीझैँ, जसले भन्छ: “हामी जहाँ पुगे पनि, हाम्रो जरा यही आगोको कर कस र धुवाँभित्र बस्छ।”






प्रतिक्रिया राख्नुहोस्