पूर्व विशिष्टका सेवा-सुविधा खारेज गरेर अघि बढेको यही सरकार हो:मुख्यमन्त्री आचार्य 

भैरहवा – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाल-भारत सिमाक्षेत्रका भन्सारहरूमा राजश्व चुहावट भइरहेको र नियन्त्रण हुन नसकेको विषयमा सुरक्षा अधिकारीहरूको ध्यानाकर्षण गराउनुभएको छ ।

लुम्बिनी प्रदेश स्तरीय सुरक्षा गोष्ठीको उद्घाटनलाई भैरहवामा सम्बोधन गर्दै उहाँले खुला सिमानाबाट राजश्व चुहावटका गतिविधि नरोकिएको भन्दै गम्भीर ध्यानाकर्षण गराउनुभएको हो । `अहिले पनि मिलेमतोमा भन्सार छली गरेर सामान भित्र्याइन्छ । यसको नियन्त्रण कसले गर्ने हो ? यसबारेमा हामी गम्भीर छौँ कि छैनौँ ? आज देशको राजश्व सङ्कलनमै गम्भीर बन्न सकेका छैनौँ,´ उहाँले भन्नुभयो-`यो विषयमा विस्तृत छलफल गरेर जनताले सुशासनको अनुभूति पाउने गरी कार्य योजना बनाइनेछ ।´

ट्राफिक प्रहरीले चेकजाँचको नाममा सास्ती दिने गरेको भन्दै उहाँले ट्राफिक चेकजाँचलाई व्यवस्थित गर्नुपर्ने धारणा राख्नुभयो । पर्यटकहरूलाई अनावश्यक झन्झट दिन नहुने उहाँको भनाइ थियो ।

सम्बोधनका क्रममा मुख्यमन्त्री आचार्यले संविधानको रक्षा र यसको पूर्ण कार्यान्वयन अहिलेको मुख्य प्रश्न रहेको बताउनुभयो । `कुनै नेता गलत होलान् तर, सिस्टम बिग्रिएको छैन,´ उहाँले भन्नुभयो-`कतिपय नेताहरू बिग्रिएका होलान्, तर सिस्टम बिग्रिएको छैन । प्रणाली बिग्रिएको छैन । यो कुरा आत्मसात् गर्नु सबै निकायका लागि जरुरी छ ।´

उहाँले सुरक्षा क्षेत्रमा पनि आमूल परिवर्तनको आवश्यकता औँल्याउनु भयो । आन्दोलनका नाममा व्यक्तिगत सम्पत्ति जलाउनेहरूलाई कानुनी दायरामा ल्याउन सङ्घीय सरकार गम्भीर हुनुपर्ने बताउनुभयो ।

यस्तै, मुख्यमन्त्री आचार्यले सुशासन कायम गर्ने र भ्रष्टाचार न्यूनीकरण गर्ने अभियानमै प्रदेश सरकार रहेकाले स्पष्ट पार्नुभयो । `सरकारको नेतृत्व सम्हाल्दा गरेका सङ्कल्प र अठोट पूरा गर्ने गरी काम अघि बढेका छौँ । सुशासन प्रवर्द्धन र भ्रष्टाचार न्यूनीकरणको रणनीति बनाएर काम गरिरहेका छौँ । मुख्यमन्त्री र मन्त्रीहरूलाई आचारसंहिता लागू गरेका छौँ,´उहाँले भन्नुभयो-`पूर्व विशिष्टका सेवा-सुविधा खारेज गरेर अघि बढेको यही सरकार हो ।´

नेपाल सरकार गृह मन्त्रालय र लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको संयुक्त आयोजनामा प्रदेश स्तरीय सुरक्षा गोष्ठी सुरु भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.