पाल्पामा धूमधामका साथ मनाइयो राम–सीता विवाह उत्सव

पाल्पा – पूर्वी पाल्पाको रामपुर स्थित ऐतिहासिक धार्मिक स्थल सीता कुण्डमा राम–सीता विवाह उत्सव धूमधामका साथ मनाइएको छ ।
यहाँ भगवान् राम र सीता तीन महिना सम्म वनवास बस्नु भएको ग्रन्थहरूमा उल्लेख रहेको कारण त्यहाँको धार्मिक तथा सांस्कृतिक महत्वलाई उजागर गर्न रामपुर नगरपालिकाको आयोजनामा विवाह उत्सव सम्पन्न भएको हो ।
भगवान् राम सीताले वनवासको क्रममा विचरण गरेको ऐतिहासिक भूमि रामपुर नगरपालिकाको राम घाट देखि जन्ती सहित भक्तजनहरू सीता कुण्ड पुगेका थिए । उत्सवमा वडा नं ५ बाट राम घाट बरियात अर्थात् जन्ती टोली सीता कुण्ड पुगेको थियो । बेहुला सहितको जन्ती टोलीलाई काली गण्डकी किनार स्थित राम घाट बाट बिहान यज्ञ पश्चात् ८४ पूजा गरिसक्नु भएका ज्येष्ठ नागरिकहरूले आशीर्वाद दिएर बिदाइ गर्नु भएको थियो ।
१५१ जना जन्ती सहितको टोली कोइलाटारीको यज्ञको परिक्रमा गरी राम चुल्हो रहेको स्थान राम मन्दिर पुगेको थियो । राम मन्दिर बाट कसार, दही सहितको सगुन ग्रहण गरी बेझाँड बजार देखि रेवती पोखरा, गाउँ पोखरा हुँदै पैदल भएर सीता कुण्ड पुगेको हो । न
गर प्रमुख रमण बहादुर थापाले भगवान् राम र सीता सँग सम्बन्धित धार्मिक स्थलहरूको उजागर गर्नका लागि विवाह उत्सवको आयोजना गरिएको बताउनुभयो ।
स्कन्दपुराण, आनन्द रामायण र कालीदासको मेघदूतमा समेत सीता कुण्डको बारेमा चित्रण गरिएको छ । त्रेता युगमा भगवान् राम चन्द्र वनवासको क्रममा रामपुरमा बस्नु भएको स्कन्दपुराणको हिमवत खण्डको ४७ र ४८ मा ‘भगवानले रक्षा गरेको उत्तम ठाउँ रामपुर हो भनी किटान गरिएको छ । उत्सवको अवसरमा रामपुर नगरपालिका भित्रका विभिन्न जातजाति र संस्कृतिमा आधारित झाँकीहरू पनि प्रस्तुत गरिएको थियो ।
जनकपुरमा मात्र विवाह पञ्चमी मनाउँदै आएकोमा रामपुरमा पनि सुरुवात गरिएको विवाह उत्सवमा करिब १० हजारको सङ्ख्यामा श्रद्धालुहरू सीता कुण्ड पुग्नु भएको थियो । राम सीताको कुशको प्रतिमा बनाई प्रतिकात्मक विवाह संस्कार पुरा गरे पछि विवाह उत्सवको विधि पूर्वक समापन गरिएको थियो । साथै जन्ती टोलीलाई माइती टोलीले संस्कार अनुसारको बिदाइ समेत गरेर विवाह पञ्चमीलाई समापन गरिएको थियो ।






प्रतिक्रिया राख्नुहोस्