कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप, आठ जना घाइते

कञ्चनपुर- कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप हुँदा आठ जना घाइते भएका छन्। कारागार प्रशासनका अनुसार कैदीबन्दीका नाइके, चौकीदार तथा अन्य कैदीबन्दीको समूहबीच विवाद भएपछि झडप भएको हो।
झडपमा परी किरन सिंह, दिनेश कुँवर, करन कुँवर र राजेन्द्र सुनार गम्भीर घाइते भएका छन्। यस्तै, सन्दीप भण्डारी, जनक खड्का, मदन गिरी र रोशन शाही पनि घाइते भएका कारागार प्रशासनले जनाएको छ। घाइते सबैलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल पुर्याइएको छ।
कैदीबन्दीका नाइके र चौकीदारले आर्थिक अनियमितता गरेको आरोप लगाउँदै कैदीबन्दीहरूले विरोध जनाएपछि झडप भएको हो। नाइके तथा चौकीदारले सजाय मिनाहाका लागि कारागारमा निवेदन पुर्याइदिने भन्दै प्रतिव्यक्ति १५ हजारदेखि २० हजार रुपैयाँ माग्ने गरेको आरोप कैदिबन्दीहरुको रहेको छ ।
यसको विरोधमा कैदीबन्दीहरूले नाइके तथा चौकीदारलाई अन्यत्र स्थानान्तरण गर्न माग गर्दै नाराबाजीसमेत गरेका छन्।
झडपपछि जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनावको स्थिति सिर्जना भएको छ। शुक्रबार दिउँसोदेखि झडप सुरु भएपछि कारागारको सुरक्षा व्यवस्था कडा पारिएको छ।
जेलर बन्दना सुवेदीका अनुसार नाइके तथा चौकीदारले समयमा खाना नदिने, विभिन्न भत्ता वितरण नगर्ने र सिजनअनुसार पाउनुपर्ने लुगासमेत नदिने गरेको गुनासो कैदीबन्दीहरूले गरेका छन्। उहाँका अनुसार नियमअनुसार कैदीबन्दीलाई दैनिक ७ सय ग्राम चामल, ८० रुपैयाँ भत्ता तथा जाडो र गर्मीमा एक–एक जोर लुगाका लागि भत्ता उपलब्ध गराउनुपर्ने व्यवस्था छ।
एक सय ४० जना कैदीबन्दी राख्न सक्ने क्षमताको उक्त कारागारमा हाल तीन सय ८६ जना कैदीबन्दी रहेका छन्।






प्रतिक्रिया राख्नुहोस्