लमही नगरपालिकाको सार्वजनिक सुनुवाई

दाङ- दाङको लमही नगरपालिकाले सार्वजनिक सुनुवाई गरेको छ । अघिल्लो आर्थिक बर्ष २०८१\०८२ र चालु आर्थिक बर्षको पहिलो चौमासिकको संयुक्त बिषयहरु सार्वजनिक सुुनुवाईमा प्रस्तुत गरिएको थियो ।
सहभागी नागरिकले सेवा प्रवाह, विकास योजना, पूर्वाधार, राजस्व संकलन, फोहोर व्यवस्थापन, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सुरक्षा, पारदर्शिता लगायतका विभिन्न सवाल उठाएका थिए ।
नगर प्रमुख जोगराज चौधरी, उपप्रमुख लक्ष्मी योगी, प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगी, वडा अध्यक्षहरू तथा विषयगत शाखा प्रमुखहरूले उठेका प्रश्नको जवाफ दिनुभएको थियो । जवाफका क्रममा सीमित स्रोत साधनका बीच पनि नगरपालिकाले जिम्मेवारीपूर्वक काम गरिरहेको जनाउँदै सार्वजनिक सुनुवाइ र समीक्षा बैठकबाट आएका विषयलाई रणनीतिक योजनामा समेटिने बताइएको थियो ।
प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्रबहादुर डाँगीले राजस्व वृद्धि नगरबासीको साथ सहयोग बिना सम्भव नहुने उल्लेख गर्दै शून्य बेरुजुका लागि राजनीतिक प्रतिबद्धता आवश्यक रहेको बताउनुभयो । क्षतिपूर्तिसहितको नागरिक वडापत्र लमहीमा लागू गरिने, टोल विकास संस्थाको अडिट गरी सघन परिचालन गरिने र नागरिक सहभागितालाई अझ बलियो बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य लिला शाहले गर्नुभएको थियो । सार्वजनिक सुनुवाइमा नगरको समग्र विकास साझा प्रयासबाट मात्र सम्भव हुने, विकास प्रक्रियामा नागरिकको अनिवार्य सहभागिता आवश्यक रहेको र नगरवासीले स्वामित्व लिनुपर्ने निष्कर्ष निकालिएको थियो । कार्यक्रममा नगरपालिकाको योजना शाखा प्रमुख सुनिता पोख्रेलले संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सार्वजनिक सुनुवाइमा ९१ जनालाई समेटेर गरिएको मत सर्वेक्षण प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो ।






प्रतिक्रिया राख्नुहोस्