गोलन्जोरका जुनार-सुन्तला बगैँचामा पैसाको बिटो !

काठमाडौँ- सिन्धुलीको मौलिक दानेदार फल जुनार उत्पादनको केन्द्र गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्रका किसान मात्र होइन, यहाँका व्यापारीलाई समेत जुनार र सुन्तला टिपेटर बजार पठाउन भ्याइ-नभ्याइ छ ।
जुनार टिप्ने मध्य समय मङ्सिरदेखि पुस १५ गतेसम्म भएकाले यहाँका जुनार-सुन्तला बगैँचामा किसान, कामदार र व्यापारी तछाडमछाड गरिरहेका छन् । स्थानीय वरिष्ठ पत्रकार डण्ड गुरुङ भन्नुहुन्छ, “जन्मथलोको सुगन्धले पत्रकारिता पेसासँगै कृषि कर्ममा जोडिएको छु । हेर्नुस् त पाखैभरि पहेँलपुर जुनार-सुन्तला ! यहाँको बगैँचामा सुनै-सुन छ । बोटमा पैसा फलेको छ ।”
प्रत्येक वर्ष व्यापारिले किसानको बगैँचाबाटै फल उठाउने भएकाले अहिले त्यस क्षेत्रमा उनीहरूको उल्लेख्य उपस्थिति छ । तीनकन्या बगैँचामा सुनौला रङका जुनार-सुन्तला हाँगै भाँचिने गरी लटारम्म फलेको देखिन्छ । फल थेग्न नसकेर झुलेका हाँगालाई टेको लगाएर अड्याइएको छ ।
पैसा कमाउन विदेश जानुपर्छ, पैसा रुखमा फल्छ र ? भन्नेलाई किसानले गलत सावित गरिदिएको उल्लेख गर्दै लटरम्म जुनार देखाउँदै पत्रकार गुरुङ भन्नुहुन्छ, “हेर्नुस् त्यहाँ रुखमै झुप्पाका-झुप्पा पैसा फलेको छ ।” गोलञ्जोर-४ तीन कन्या माझकुभिण्डेका उत्पादित जुनार-सुन्तला गुणस्तरीय र रसिलो भएकाले खरिद गर्ने व्यापारी पैसाको बिटो बोकेर बगैँचामा घुमिरहेका पाइन्छ । त्यसक्षेत्रका किसानका बगैँचामा न्यूनतम ५० देखि अधिकतम एक हजारसम्म जुनार सुन्तलाका बोट रहेको पाइएको छ । जुनारबाट राम्रो मूल्य पाएपछि यहाँका किसानसमेत हर्षित छन् ।
हो, त्यहाँका जुनार–सुन्तलाको एउटै बोटले किसानलाई वार्षिक रूपमा २५ हजार रुपैयाँ मूल्य बराबरको उत्पादन दिँदै आएको छ । अहिले त्यहाँ बगैँचाबाट जुनार प्रतिकिलो ५५ र सुन्तला १०० रुपैयाँका दरले बिक्री हुँदै आएको छ । बजारमा उपभोक्ता मूल्य भने जुनारको प्रतिकिलो ९० र सुन्तलाको १३० रुपैयाँ रहेको छ ।
पत्रकार गुरुङले भन्नुभयो, “तपाईंहरू यहाँको बगैँचा घुम्नुस्, प्रत्येक घरका बगैँचामा जुनार र सुन्तला नामको पहेँलपुर सुनै-सुन फलेको छ । अहिले व्यापारी तँछाड-मछाड गर्दै पैसाको बिटो लिएर बगैँचामा घुमिरहेको देख्नुहुन्छ ।” उहाँले भनेजस्तै बगैँचाका प्रत्येक बोटमै पैसा फलेको छ, जुनार-सुन्तला नोटसँग साटिन तम्तयार भएर झुलेको देखिन्छ । गोलञ्जोरको सातै वडाको महाभारत क्षेत्र हावापानीका हिसाबले जुनार-सुन्तला उत्पादनका लागि उर्वर मानिन्छ ।
सरकारी तथ्याङ्कअनुसार त्यस पालिकाबाट मात्रै वार्षिक रूपमा करिब रु ४० करोड मूल्य बराबरको जुनार–सुन्तला उत्पादन हुने गरेको छ । पत्रकार गुरुङकै सल्लाह र सुझावमा पालिकाले गत मङ्सिरको २३ देखि २५ गतेसम्म माझकुभिण्डेमा बृहत् जुनार प्रवर्द्धन मेलासमेत आयोजना गरको थियो । मेलाका अवसरमा बगौँचा पुगेर आफ्नै हातले टिपेर जुनार-सुन्तलाको स्वाद चाख्न तथा बगैँचा अवलोकन गर्न हजारौँ व्यक्ति आन्तरिक कृषि पर्यटकका रूपमा पुग्नुभयो ।
स्थानीय मौलिक फल जुनारको राष्ट्रिय–अन्तरराष्ट्रिय रूपमा प्रचारप्रसार गर्ने, आर्थिक र पौष्टिक महत्त्वबारे जानकारी गराउने, कृषकलाई सम्मान गर्ने तथा उत्पादन बजारसम्म पुर्याउन सरकारसँग सहज सडकको माग गर्ने उद्देश्यले मेला गरिएको थियो । मेलामार्फत देश-विदेशका राष्ट्रिय सञ्चार माध्यममा समेत गोलञ्जोरको जुनारले स्थान र चर्चा पाएको थियो र छ ।
राज्यप्रति स्थानीयवासीको एउटै गुनासो छ, बीस वर्षदेखि सडक कालोपत्र होस् भनी उठाएको आवाज कहिले पूरा हुन्छ ? पूर्वाधार कार्यालय सिन्धुलीका प्रमुख प्रमुख लक्ष्मीप्रसाद सापकोटा किसानको माग बमोजिम चिल्लो र कालोपत्र सडक भएमा सजिलै बजारसँग जोड्ने र उत्पादित फल समयमै बिक्री गर्न सजिलो हुने बताउनुहुन्छ ।
जुनार किसानको मागअनुरूप खतियाखर्कबाट बाहुनतिल्पुङ र देउरालीसम्मको सडक प्रदेशिक सरकारको गुरु योजनामा परेकाले सबैको पहलमा बजेट व्यवस्थापन गर्नुपर्ने आवश्यकता उहाँ औँल्याउनुहुन्छ । बिपी राजमार्गको महाभारत क्षेत्रको खनियाखर्कबाट करिब ३५ किमी कच्ची सडकको यात्रा गरी पुग्न सकिने माझकुभिण्डेमा पुग्ने जोकोही पाखैभरि लालुपातेझैँ झुलेका जुनार–सुन्तलाका बोट देखेपछि छक्कसँगै दङ्गसमेत अवश्य पर्ने छन् ।
पछिल्ला वर्षमा त्यहाँ व्यावसायिक उत्पादन गरेका जुनार–सुन्तला किसानले हचुवाका आधारमा बोटबाटै मोलतोल गरी व्यापारीलाई बिक्री गर्दै आएका छन् । जुनार र सुन्तलाको फूल फल्नासाथ व्यपारी टोकनबापतको रकम लिएर किसानका बगैँचामा पुग्ने गरेका छन् । केही वर्षदेखि जुनारमा औँसा, सुडेपुतली र ढुसीलगायत रोग देखिएपछि किसानले जुनारस्रोत तथा अनुसन्धान केन्द्र स्थापनाका लागि माग गरिरहेका छन् । महाभारत शृङ्खलाको काखमा पूर्वउत्तर ढल्किएको तीनकन्या क्षेत्रबाट तल सुनकोशी गडतिर र रामेछाप क्षेत्रको भूगोल तथा गौरी शङ्करलगायत हिमाल छर्लङ्ग देखिने भएकाले प्राकृतिक दृश्यावलोकनका हिसाबले समेत यो भू-भाग महत्त्वपूर्ण मानिन्छ ।
कस्तो फल हो जुनार, नाम कसरी रह्यो ?
जुनारको इतिहास दुई सय वर्ष अघिको छ । जुनारलाई गोलञ्जोरमै उत्पत्ति भएको फल मानिन्छ । यसको इतिहास नेपालको लोपोन्मुख जाति हायु परिवारसँग जोडिएको छ । प्रारम्भमा जुनारका बिरुवा कोसेलीका रूपमा नजिकको गाउँ वितरण गरिएको भन्ने छ ।
करेसाबारीमा फलेको अनौठो फल फलेपछि स्थानीय हायु परिवारले तत्कालीन राजा/महाराजलाई चखाउन पठाएका थिए । उहाँहरूले ‘जिउनार’ गरेको र मिठो रहेको सुनाएपछि त्यो फलको नाम ‘जुनार’ रहन पुगेको विश्वास गरिएको छ । दानेदार रसिलो जुनार भर्खरै जन्मिएको बालकदेखि वृद्धवृद्धासम्म सबै उमेर समूहलाई खुवाउन मिल्ने फल हो । स्थानीय तीन कन्यामै उत्पत्ति भएको मानिएको जुनारको व्यावसायिक खेती भने वि.सं. २०३२ देखि हुँदै आएको छ ।
नेपालको मौलिक फलका रूपमा परिचित जुनारखेती जिल्लाको एक हजार ११३ हेक्टरमा फैलिएको गोलञ्जोर गाउँपालिका प्रमुख शङ्करराज बराल बताउनुहुन्छ । जिल्लामा उत्पादन हुने कुल ९० प्रतिशत जुनार गोलञ्जोरमा उत्पादन हुने गरेको छ । यो वर्ष ११ हजार मेट्रिक टन जुनार यसै क्षेत्रबाट उत्पादन हुने अनुमान छ । महाभारत शुङ्खलाको ७२ किमी क्षेत्र जुनार-सुन्तला उत्पादनका लागि उपयुक्त मानिएको छ ।
अनौपचारिक तथ्याङ्कअनुसार त्यस पालिकाबाट मात्रै वार्षिक रूपमा रु ७५ करोड मूल्य बराबरको जुनार–सुन्तला बिक्री हुने गरेको छ । जुनार उत्पादन सहकारी सङ्घ सिन्धुलीका अध्यक्ष निर्मल रम्तेल भन्नुहुन्छ, “स्वादिला र गुणस्तरीय भएकाले होला, व्यापारीहरू पैसाको बिटो लिई बगैँचामै आएर जुनार किन्न व्यापारी तँछाड-मछाड गर्छन्, त्यसैले भनिएको हो, यहाँको रुखमै पैसा फल्छ ।” त्यस पालिकाका सात वटै वडामा जुनारखेती छ ।
साथै जिल्लाका अरु गाँउपालिका कमलामाई, सुनकोशी, तीनपाटन, हरिहरपुरगढीमा पनि पछिल्लो समय जुनारखेती विस्तार हुँदै गएको छ । गोलन्जरको एउटा मौलिक फल जिल्लाकै पहिचान बनेको प्रतिक्रिया दिँदै गाउँपालिका अध्यक्ष बराल भन्नुहुन्छ, “जिल्लाभरमा यसको एक अर्बभन्दा बढीको व्यापार छ । धेरैले रोजगारी पाएका छन् । अघिल्ला वर्षमा औँशा र सुडेपुतलीले दुःख दिएकामा अहिले त्यो नियन्त्रण हुँदै गएको छ । यद्यपि हरेक वर्ष रोगकिसाबाट फललाई जोगाउन सजग र सचेत रहनुपर्ने देखिन्छ ।
सिन्धुलीमा उत्पादित जुनारको बजार पूर्वमा काकडभिट्टादेखि पश्चिमा पोखरा र बुटवलसम्म छ । बिपी राजमार्ग भएर पूर्व-पश्चिम यात्रा गर्ने जो कोहीको झोलामा कोसेलीका रूपमा जुनार रहने गरेको छ । सिन्धुलीमाढी, खनिया खर्क र खुर्काेट बजारमा हार मिलाएर बिक्रीका लागि राखिएको जुनारका थुप्राले एक पटक यात्रुको ध्यान खिच्ने गरेको छ ।
अहिले गाउँमा मात्र होइन, सहरबजारका हरेक फलफूल पसलमा जुनार राखिने गरिएको छ । सुन्तला र एभोगाडोको तुलनामा निकै सस्तो जुनार अत्याधिक रसिलो फल हो ।
जुनारबाट जुस, स्क्वास, जाम, जेली, मार्मालेड, क्याण्डीजस्ता विभिन्न परिकार बनाउन सकिन्छ । त्यस्तै जुनार बगैँचामा अन्तरबालिकारूपमा भटमास, सिमी, अदुवा, दाल, बेसार र कफीखेतीलाई किसानले अघि बढाइएको छ । त्यसबाट किसान निकै लाभान्वित भएका छन् । नयाँ बालिका रूपमा त्यस क्षेत्रमा एभोकाडो र अम्बा पनि किसानले भित्र्याएको देखिन्छ ।
गाउँपालिका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपाने भन्नुहुन्छ, “जुनार–सुन्तला खेतीका लागि यहाँको हावापानी उपयुक्त छ, उत्पादित फल निकै मिठो छ ।” यस क्षेत्रमा उत्पादित जुनार–सुन्तलालाई सहजरूपमा बजारसम्म पुर्याउन तथा यसको महत्त्वबारे राष्ट्रिय अन्तरराष्ट्रिय रूपमा परिचित गराउने अभियानमा जनप्रतिनिधिहरू जुटिरहेको उहाँ बताउनुहुन्छ ।
भर्खरै जन्मिएको शिशुदेखि १०० वर्षसम्मका वृद्धलाई पनि जुनारका रस खुवाउँदा कुनै असर गर्दैन । बरु हुर्कन र तागत प्राप्त हुन्छ । त्यसैले पनि जुनारको माग र महत्त्व बढेको छ । तर यति हुँदाहुँदै पनि किसानको रोजाइमा भने जुनारको तुलनामा सुन्तला नै रहेको पाइन्छ ।
सुन्तला सर्लक छोडाएर खान सजिलो हुन्छ । रोग किराको सङ्क्रमण जुनारको दाँचोमा सुन्तलामा कम हुन्छ । स्थानीय गुणबहादुर ठकुरीका अनुसार सुन्तला एक गाडी लिएर बेच्न निस्कियो भने डेढ लाख रुपैयाँ कमाइन्छ भने सोही परिणामको जुनार बेच्दा ५० हजार रुपैयाँ मात्र हुन्छ ।
तथापि, जुनार नेपालकै मौलिक फल रहेकाले यसको प्रचारप्रसार गरी किसानलाई बजारको पहुँच सहजताका लागि सरकारले कालोपत्रे कृषि सडक बनाइ दिनुपर्ने उहाँको भनाइ थियो । उहाँका अनुसार, उपयुक्त हावापानी भएकाले नेपाल र नेपालीका लागि आम्दानीको राम्रो स्रोत जुनार–सुन्तलाभन्दा राम्रो अरु केही छैन । पैसा कमाउन युवापुस्ता बाहिर जान पर्दैन । यही स्रोत राम्रो छ ।
विसं २०३५ देखि व्यावसायिक जुनारखेती गर्दै आउनुभएका ठकुरीको हाल ६०० बोट जुनार सुन्तला छ । उहाँको वार्षिक कमाइ हाल रु ३० लाखसम्म हुँदैआएको छ । पछिल्लो समय रामेछाप, ओखलढुङ्गा, मकवानपुर, काभ्रे, सिन्धुपाल्चोक, दोलखालगायत जिल्लामा पनि जुनारखेती व्यावसायिक रूपमा अघि बढिरहेको छ ।
जुनारखेती विस्तार र प्रवर्द्धन सरकारले कालोपत्र सडक, मेला र महोत्सव गर्नुपर्ने व्यावसायिक खेती गर्दै आएका किसानको भनाइ छ । हुन पनि बजार व्यवस्थापन, सहज पहुँच र प्रचारप्रसार गर्न सके रसिलो, पोषिलो अनि स्वादिलो नेपालकै स्थानीय मौलिक फल जुनारले अरु फलफूलसँग प्रतिस्पर्धा गर्न पर्दैन ।
सिन्धुली जुनार सङ्घका अध्यक्ष कर्णबहादुर आलेमगर हावापानीका कारण धेरै गुणस्तरीय फल उत्पादनको सम्भावना रहेको बताउनुहुन्छ । यद्यपि कृषक गुणबहादुर ठकुरीका अनुसार माझकुभिण्डे आम्दानीको हिसाबले धेरै फल्ने, छिटो बिक्री हुने, पैसा पनि धेरै आउने भएकाले सुन्तला प्रतिको मोह बढ्दो छ ।





प्रतिक्रिया राख्नुहोस्