सहचालक सहित सात यात्रु सामान्य घाइते, छ जना सामान्य उपचारपछि ’डिस्चार्ज’

झापा- भद्रपुर विमानस्थलमा शुक्रवार राति ९ बजेर १० मिनेटमा भएको बुद्ध एयरको विमान दुर्घटनामा चालक दलका एक जनासहित सात यात्रु घाइते भएका छन्  ।

काठमाडौंबाट भद्रपुरका लागि उडेको कलसाइन ९०१ रहेको बुद्ध एयरको एटीआर ७२ जहाज भद्रपुर विमानस्थलमा अवतरण गर्ने क्रममा रनवेको पूर्वतर्फ ३०० मिटर ओभर रन भई जहाज घाँसे झाडी र माटोमा भासिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बुले प्रारम्भिक जानकारी दिनुभयो  ।

उक्त जहाजमा ५१ जना यात्री, चार जना चालक दलका सदस्य र एक जना विमानका इन्जिनियर हुनुहुन्थ्यो  । तीमध्ये ललितपुर४ निवासी कोपाइलट २४ वर्षीय सुशान्त श्रेष्ठ र अन्य छ जना यात्री घाइते हुनुभएको छ  ।

घाइतेहरुमा भद्रपुर१० का ४० वर्षीय सबिन जोगी, विर्तामोड७ की २० वर्षीया प्रेषिका अधिकारी, विर्तामोड१ की ४२ वर्षीया सुमित्रा जोगी, दमक१ का २८ वर्षीय कमलप्रसाद कटुवाल, काठमाडौं१६ की ४० वर्षीया मुना घतानी र काठमाडौँ१६ की १६ वर्षीया प्रिया घतानी रहेको प्रहरीले जनाएको छ  ।

घाइतेलाई नेपाल प्रहरीको उद्धार टोलीले तत्कालै भद्रपुरको ओमसाई पाथिभरा हस्पिटलमा उपचारका लागि पुर्याएको थियो  । टाउको र अनुहारमा चोट लागेका कोपाइलट २४ वर्षीय सुशान्त श्रेष्ठको अस्पतालमा उपचार भइरहेको छ भने अन्य छ जना घाइते सामान्य उपचारपछि ’डिस्चार्ज’ भएर घर फर्किसकेको प्रहरी उपरीक्षक लिम्बुले जानकारी दिनुभयो  ।

उक्त जहाज काठमाडौँबाट भद्रपुरका लागि शुक्रवार राति ८ बजेर २३ मिनेटमा उडेको थियो भने भद्रपुर विमानस्थलमा ९ बजेर १० मिनेटमा अवतरण गर्ने क्रममा ओभर रन भई दुर्घटना भएको थियो  ।

जहाज दुर्घटनामा परे लगत्तै जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी उपरीक्षक राजन लिम्बुको कमान्डमा ७० जना प्रहरीको टोली उद्धारका लागि खटिएको प्रहरीले जनाएको छ  । प्रहरीले नै सबै यात्रीलाई दुर्घटना भएको जहाजबाट सकुशल बाहिर निकालेर घाइतेलाई अस्पतालमा पुर्याएको थियो  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.