जनकपुरधामका ८० प्रतिशत परिवार खानेपानी पहुँच बाहिर

जनकपुरधाम- जनकपुरधाम नगरभित्र माग अनुसार खानेपानी वितरण तथा आपूर्ति नहुँदा यहाँका ८० प्रतिशत परिवार खानेपानीको पहुँच बाहिर छन् । दैनिक आवश्यकताभन्दा करिब ३५ लाख लिटर कम खानेपानी आपूर्ति गर्दै आएको खानेपानी संस्थान जनकपुरधाम उपभोक्ताको मागअनुसार वितरण गनृ सकिरहेको छैन ।
जनकपुरधाम नगरक्षेत्रमा दैनिक दुई करोड ५० लाख लिटर पानीको माग रहे पनि संस्थानले २० प्रतिशत घरमा मात्र पाइपमार्फत खानेपानी आपूर्ति गर्दै आएको जनाएको छ ।
कार्यालयका प्रमुख विष्णुदेव साहले राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसार हाल जनकपुरधाममा ४० हजार ४०९ परिवारमध्ये पाँच हजारमामा खानेपानीको धारासहित मिटर जडान गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार तीमध्ये ४० प्रतिशत घरमा आशिंक रूपमा मात्र पानी आपूर्ति हुने गरेको छ । पछिल्लो समय यहाँ परिवारको सङ्ख्या पनि बढ्दै गएको उहाँको भनाइ छ ।
वडा नं १० तथा रामानन्द चोकमा निर्मित चार लाख ५० हजार लिटर क्षमताको दुईवटा ओभरहेड ट्याङ्कीमा छवटा डिपबोरिङबाट सङ्कलित भूमिगत पानीलाई प्रशोधन गरी वितरण भइरहेको प्रमुख साहले जानकारी दिनुभयो । करिब ३४ वर्ष पुरानो वितरण प्रणालीका कारण विभिन्न स्थानमा पाइप फुट्ने, चर्कने, जीर्ण संरचनालगायत समस्याले नियमित पानी वितरणमा चुनौती थपिएको उहाँको भनाइ छ ।
सीमित बजेटका कारण ३४ वर्ष पुरानो तथा जीर्ण पाइपबाट सबै वडामा खानेपानी आपूर्ति पुर्याउन समस्या भएको कार्यालयका प्रमुख साहले बताउनुभयो । उहाँका अनुसार जीर्ण पाइपका कारण नियमित रूपमा ५० प्रतिशत मात्र पानी आपूर्ति भइरहेको छ ।
गत आर्थिक वर्षमा कार्यालय हाताभित्र एक करोड ३० लाख रुपैयाँ मूल्य बराबरको लागतमा थप पाँच लाख लिटर क्षमताको ट्याङ्की र चार करोड रुपैयाँभन्दा बढीको लागतमा मुजेलिया प्रहरी चौकीबाट वडा नं ८ स्थित होटल सियाशरणसम्मको सडकको दायाँबायाँ आठ–आठ इन्चको पाइप बिछ्याएको थियो ।
सीमित स्रोत र साधनका बाबजुद त्यहाँबाट पाँच लाख लिटर पानी भण्डारण तथा धारा जडानको काम भइरहेको कार्यालय प्रमुख साहले बताउनुभयो । यसैबीच, पटकपटक विद्युत् आपूर्ति बन्द हुँदा पानी वितरणमा समस्या हुने गरेको कार्यालयका कर्मचारीले गुनासो गरेका छन् । यहाँका अधिकांश परिवारले चापाकल तथा मोटर जडान गरेर खानेपानीसहित दैनिक प्रयोगका कार्य गरिरहेका छन् ।






प्रतिक्रिया राख्नुहोस्